फास्ट ट्रयाकमा नागरिकता विधेयक पारित गर्ने तयारी सहित प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ - सरकारले नागरिकता विधेयक फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरेको छ। शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयकमाथि परेका संशोधनमाथि हाउसमै छलफल गर्ने र पारित गर्ने कार्यसूची छ। सामान्यतया विधेयकहरु माथि दफावार छलफल गर्न विषयगत समितिमा पठाउने गरिन्छ।

तर, हाउसले दफावार छलफल हाउसमै गर्ने वा विषयगत समितिमा पठाउने भनी निर्णय गर्ने अधिकार राख्दछ। संसद सचिवालयका अधिकारीहरूका अनुसार प्राप्त संशोधनलाई ख्याल गरेर हाउसमै छलफल गर्ने कि विषयगत समितिमा पठाउने भन्ने निर्धारण गर्ने गरिन्छ।

तर, विगतमा नागरिकता विधेयक विषयगत समितिमा पठाउँदा गिजोलिएको, सरकारले चाहेको समयमा पारित गराउन नसकेको जस्ता दृष्टान्त देखाउँदै सरकारले हाउसमै दफावार छलफल गरेर सिधै पारित गराउन चाहेको छ। सरकारको यही चाहनाअनुसार सभामुखले पनि सम्भावित कार्यसूचीमा राखेका छन्। थप निर्णय प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले गर्नेछ। 

सम्भावित कार्यसूचीअनुसार शुक्रबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

नागरिकता विधेयकलाई शुक्रबार नै प्रतिनिधिसभाबाट पारित गरेर राष्ट्रिय सभामा पठाउने तयारी छ। राष्ट्रिय सभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ र राष्ट्रिय सभाले संशोधन गरेको खण्डमा त्यसलाई प्रतिनिधिसभाले स्वीकार गरेको खण्डमा सभामुख हुँदै राष्ट्रपति कहाँ पुग्छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नागरिकता ऐन संशोधन विधेयक ऐनका रुपमा कार्यान्वयनमा आउनेछ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×