१५ मंसिर, काभ्रेपलाञ्चोक ।
अरनिको राजमार्गअन्तर्गत बनेपा तीनदोबाटो–पुलबजार सडक विस्तारमा देखिएको लामो विवाद अन्ततः मिलेको छ। विवाद समाधानसँगै स्थगित निर्माण काम अब छिट्टै पुनः सुरू हुने भएको छ।
डिजिटल नापी नक्सालाई आधार मानेर सडक सीमा पुनः निर्धारण गर्ने सहमति बनेपछि सडक विस्तारमा केही समयदेखि देखिएको रोकावट हटेको काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यले बताए।
यसअघि सडक डिजाइन, सर्भिस लेन, पुलको उचाइ तथा केन्द्ररेखा पहिचानबारे स्थानीयले बारम्बार सुधार सुझाव दिए पनि आयोजनाले पर्याप्त सुनुवाइ नगरेको भन्दै असन्तुष्टि बढेको थियो। यही विषयले गर्दा सडक विस्तार कार्य करिब एक वर्षदेखि प्रभावित भएको थियो।
आइतबार बनेपा नगरपालिकामा पीडित पक्ष, निर्माण कम्पनी, नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख तथा अन्य सरोकारवालाबीचको छलफलपछि ‘काम निरन्तरता दिने’ सहमति भएको हो। मेयर शाक्यका अनुसार अब सडक विस्तारले नयाँ गति लिनेछ।
छलफलमा सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतो, वडाध्यक्षहरू, नापी कार्यालयका प्रतिनिधि तथा निर्माण कम्पनीका इञ्जिनियरहरूको सहभागिता थियो।
सूर्यविनायक–धुलिखेल सडक स्तरोन्नति परियोजनाअन्तर्गत पहिलो खण्ड—साँगा–धुलिखेल (८ किमी)—को तीन वर्षे समयसीमा सकिन अब मात्र तीन हप्ता बाँकी छ। सो खण्डको निर्माण २०७९ मंसिर २७ गते ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा सम्झौता भएको थियो।