राप्रपा फुटको नजिक, नयाँ विकल्पकाको खोजीमा थापा

काठमाडौँ- १९ मंसिरको एकाबिहानै जुन खबर सञ्चार माध्यममा आयो, त्यो खबर राष्ट्रिय प्रजातन्त्र पार्टीमा निरन्तर नेतृत्वमा रहेका कमल थापाको पक्षमा थिएन। उनी आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनसँग १९९ मत अन्तरले पराजित भएका थिए। महाधिवेशनबाट पराजित थापाले हारलाई सहज रूपमा लिएनन्।

उनले अध्यक्षमा विजयी लिङ्देनलाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई त दिए, साथै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोपसमेत लगाए। उनले त्यसबेला सामाजिक सञ्जालमा लेखेका थिए, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो। सो एजेन्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’त्यसयता थापाले महाधिवेशनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेप भएको भन्दै छानबिन हुनुपर्ने माग निरन्तर रूपमा उठाइरहेका छन्। यसका अलावा उनले सैद्धान्तिक, व्यावहारिक र संगठनात्मक गरी तीन विषय उठान गरिरहेका छन्।

त्यसबारे पार्टी नेतृत्वले छलफल गरेर निराकरण गर्नुपर्ने उनको माग छ। उनले यो विषयमा २७ मंसिरमा पहिलोपटक र १६ माघमा दोस्रोपटक अध्यक्ष लिङ्देनलाई पत्र पठाएर आफ्नो मागबारे ध्यानाकर्षण गराएका थिए। तीन दिनअघि थापा र लिङ्देनबीच भेटवार्ता पनि भयो। तर, सो भेटवार्ताले पनि थापा खुसी हुन सकेनन्।

उनले अध्यक्ष लिङ्देनले आफूलाई आएर भेटेको तर माग सम्बोधन गर्ने दिशामा उनी नदेखिएको पनि बताएका छन्। ‘अध्यक्षजीसँग मेरो घरमै सामान्य कुरा भयो। मैले दुईपटक लिखितपत्र बुझाएर उठाएका विषय समाधानतर्फ उनी गम्भीर भएको मैले पाइनँ,’ उनले भनेका छन्, ‘अध्यक्षको कुराअनुसार समस्याको निकास दिने सम्भावना रहेन। अहिलेसम्म निकास दिने छाँट नदेखिएकाले अब विकल्प खोज्नैपर्ने भएको छ।’

राप्रपाका निवर्तमान अध्यक्ष थापा अहिले जुन रूपमा अघि बढिरहेका छन्, त्यसले राप्रपा कुनै पनि दिन विभाजन नहोला भन्न सकिन्न। एकता महाधिवेशनमा लिङ्देनसँग पराजित भएसँगै उनले पार्टी गतिविधि पनि बहिष्कार गर्दै आएका छन्। उनका पछिल्ला गतिविधि नियाल्ने हो भने थापा नयाँ पार्टी गठनमा लागेको देखिन्छ।

जस्तो उनले सोमबार नै सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आफूनिकट पदाधिकारी र सदस्यको भेला राखेर अध्यक्ष लिङ्देनले आफ्ना माग पूरा गर्न कुनै चासो नदेखाएकाले नयाँ विकल्पका लागि तयार रहन आग्रह गरेका छन्। ‘मैले उठाएका रा]जनीतिक र संगठनात्मक विषयलाई अध्यक्ष लिङ्देनजीले सम्बोधन गर्ने कुनै तत्परता देखाउनुभएन’, अध्यक्ष थापाले भेलामा भने,’ मैले उठाएका माग सम्बोधन भएमा पार्टीमै बस्छु। यदि ती विषय सम्बोधन नभएमा विकल्प खोज्छु। त्यो अवस्थामा मलाई सबैको साथ सहयोग चाहिन्छ।’ राजधानी दैनिकमा खबर छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×