कम खेलाडी उतारेको जदाहा फाइनलमा

विराटनगर - सुरुवातदेखि नै एक खेलाडी कम उतारेको जदाहा भेट्रानले सेमिफाइनलमा मिल्स भेट्रानलाई पराजित गर्दै मुस्ताङ विराट मेगा भेट्रान कपको फाइनलमा स्थान पक्का गरेको छ।

शुक्रबार विराटनगरको सहिद रंगशालामा मिल्सलाई ३-० ले पराजित गर्दै जदाहाले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो। जदाहाका लागि सुवास सुब्बा, विमल गुरुङ र सन्तोष श्रेष्ठले १-१ गोल गरेका थिए। प्रतियोगिताको नियम अनुसार ५० वर्ष माथिका खेलाडी अपुग भएपछि जदाहाले १० खेलाडीमा सिमित रहेर खेलेको थियो।

अनुभवी डिफेन्डर संजिव बुढाथोकीको उत्कृष्ट प्रदर्शनमा जदाहाले बल पोसेसनमा पकड जमाउँदै खेल जित्यो। खेलको १२ औं मिनेटमा सुवासको गोलमा जदाहाले अग्रता लिएको थियो। सुवासले मिडफिल्डबाट आएको पासमा अफसाइड ट्रयाप बिट गर्दै वन भर्सेस वनको स्थितिमा सुन्दर गोल गरेका थिए।

३७ औं मिनेटमा जदाहाका लागि सन्तोष श्रेष्ठले अग्रता दोब्बर पारेका थिए। उनले पेनाल्टी क्षेत्र भित्रबाट निकै कठिन एंगलबाट गरेको प्रहार पोस्टमा लाग्दै गोल भएको थियो। विमलले खेलको ६५ औं मिनेटमा दर्शनीय गोल गर्दै जित सुनिश्चित गरे। उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार विपक्षी गोलरक्षकले बचाउने कुनै मौका पाएनन्।

यससँगै जदाहाले अब शनिबार हुने फाइनलमा आयोजक विराट मेघा स्पोर्ट्स एकेडेमी ‘बी’ को सामना गर्नेछ। विहीबार भएको सेमिफाइनलमा आयोजक टोली पराजित भएपनि विजयी टोली सिद्राहाका खेलाडीविरुद्ध प्रोटेस्ट परेको थियो।

सिद्राहाका ३०२ को जितमा २ गोल गरेका हर्क गुरुङको उमेर प्रतियोगिताको नियमभन्दा कम रहेको थाहा भएपछि आयोजकले सिद्राहालाई निष्कासन गरेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×