काठमाडौँ - आज १५ अगस्ट, इङ्लिस प्रिमियर लिग ३०औं वर्षमा प्रवेश गरेको छ। इङ्लिस फुटबलको शीर्ष डिभिजन इतिहासमा सर्वोत्कृष्ट भएको प्रिमियर लिगको ३०औं वार्षिकोत्सव मनाइँदैछ आज।
यो ३० वर्षमा प्रिमियर लिग र विश्व फुटबल कसरि परिवर्तन भयो त ? के कस्ता गतिविधिहरू भए?
प्रिमियर लिगको ३० वर्षमा ११ हजार ६ सय ५६ खेलहरू भए र ३१ हजार १६ गोल भए। जुन गोलहरू २ हजार ५ सय २८ खेलाडीबाट निस्किएका थिए।
१ सय २० फरक राष्ट्रका ४ हजार ५ सय ३४ खेलाडीले हालसम्म प्रिमियर लिग खेलेका छन्। जसमा सबैभन्दा धेरै १ हजार ६ सय ३२ इङल्यान्डका , २ सय २१ फ्रान्सका र २ सय १० स्कटल्यान्डका खेलाडी समावेश छन्।
एलन सियरर हालसम्मका सर्वाधिक गोलकर्ता हुन्। उनले २ सय ६० गोल गरेका छन्। जुन प्रिमियर लिगको कुल गोल संख्याको ०.८४ प्रतिशत हो।
गोल गर्ने खेलाडी भन्दा बढी ३ हजार २ सय १७ खेलाडीले कार्ड पाएका छन्। जसमा ३५ हजार ३ सय १२ कार्ड देखाइएका मध्य १ हजार ७ सय एक रातो कार्ड थिए। तीमध्ये रिचार्ड ड्युन, डुनक्यान फर्ग्युसन र प्याट्रिक भिएराले समान ८-८ रातो कार्ड पाएका छन्। उनीहरु प्रिमियर लिग इतिहासमा सबैभन्दा धेरै रातोकार्ड पाउने खेलाडीमा पर्छन। ग्यारेथ बारीले कीर्तिमानी १ सय २३ एल्लोकार्ड पाएका छन्।
प्रिमियर लिगमा विभिन्न ५० क्लबहरु छन्। जसमा सात क्लबले कम्तीमा एकपटक उपाधि जितेका छन्। ४२ टिम रेलिगेसनमा परेका छन्। म्यान्चेस्टर सिटी, ब्ल्याकवर्न र लेस्टर सिटीले उपाधि जित्नेदेखि लिएर रेलिगसनसम्म दुवै अवस्था सामना गरेका छन्।
प्रिमियर लिगमा ९ सय ५५ खेलहरू गोलरहित बराबरी भएका छन्। जुन सबै खेलको ८.२ प्रतिशत हो। ५ खेलमा १० गोल भाएका छन। सबै भन्दा धेरै प्रोट्समाउथ र रिडिङको खेलमा ११ गोल भएको थियो। सन् २००७ मा भएको उक्त खेलमा रिडिङविरुद्ध प्रोट्स माउथले ७-४ गोलको नतिजामा जित निकालेको थियो।
र, प्रिमियर लिग इतिहासमा हालसम्म ३ सय ६८ मिलियन दर्शक साक्षी रहेका छन्। जसमा हजारौं सुरूवातदेखिका छन्। यी सबै हेर्दा सन् १९९२-९३ देखि अहिलेसम्म फुटबल नाटकीय रूपमा विकास भएको छ।