तीन वर्षपछि विराटको अन्तर्राष्ट्रिय क्रिकेटमा शतक

काठमाडौँ - भारतीय पूर्व कप्तान विराट कोहलीले अन्तत: अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएका छन्। विराटले एसिया कपमा अफगानिस्तानविरुद्धको सुपर चारको खेलमा शतक प्रहार गरेका छन्। विराटले ६१ बलमा अविजित १२२ रन बनाएका थिए।

उनले ५३ बलमा आफ्नो शतक पूरा गरेका थिए। भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१२ रन बनाएको थियो। विराटले करिब ३ वर्ष पछि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन्।

यसअघि विराटले नोभेम्बर २३, २०१९ मा बंगलादेशविरुद्धको कोलकाता टेस्टमा आफ्नो करियरको ७०औं शतक बनाएका थिए। त्यसयता विराटले १०२० दिनपछि आफ्नो ७१औँ अन्तर्राष्ट्रिय शतक बनाएका छन्। विराटको यो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो।

यो शतकसँगै विराट अहिले सबैभन्दा धेरै अन्तर्राष्ट्रिय शतक बनाउने मामिलामा अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङसँग बराबरमा रहेका छन्। दुबैको नाममा ७१-७१ शतक छ। विराटले टेस्ट क्रिकेटमा २७, एकदिवसीय क्रिकेटमा ४३ र टी-२० क्रिकेटमा यहि १ शतकसहित ७१ शतक बनाएका छन्।

त्यस्तै पोन्टिङले टेस्टमा ४१, एकदिवसीयमा ३० शतक बनाएका छन्। उनीहरु भन्दा अगाडी सचिन तेन्दुलकर छन्। सचिनले अन्तर्राष्ट्रिय क्रिकेटमा १०० शतक बनाएका छन्। सचिनले टेस्टमा ५१, एकदिवसीयमा ४९ शतक बनाएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×