काठमाडौँ - वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अर्लिङ हालान्डको गोलको मदतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमलाई शनिबार राति २-१ अन्तरले पराजित गरेको छ।
घरेलु मैदान इतिहादमा पहिलो हाफमै १० खेलाडीमा सिमित भएपछि सिटी दवावमा आएको थियो। फुलहमले पहिलो हाफमै १-१ गोलको बराबरी गरेपछि प्रशिक्षक पेप ग्वार्डिओलाले हालान्डलाई मैदान पठाएका थिए। इन्जुरी सयममा पेनाल्टीमा गोल गर्दै हालान्डले जित दिलाए।
यस अघि १७ औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। २६ औँ मिनेटमा सिटीका जोआओ कान्सेलोले ह्यारी विल्सलाई लडाएपछि फुलहमले पेनाल्टी पाएको थियो। सिटी १० खेलाडीमा सिमित भयो। सोही पेनाल्टीलाई २८ औँ मिनेटमा आन्द्रेस पेरीराले गोल गर्दै फुलहमलाई बराबरीमा ल्याएका थिए।
जितसँगै सिटी १३ खेलबाट ३२ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। फुलहम १९ अंक जोडेर आठौं स्थानमा रहेको छ।