काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई अपठ्यारो पर्दा जोगाउने र दिशा निर्देश गर्ने पार्टी भनेकै नेकपा माओवादी केन्द्र भएको बताएका छन्। कर्णाली प्रदेशको सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले बेला बेला परिवर्तनका मुद्दा उल्टाउने र फेरी पुरानै ठाउँमा लिएर देशलाई डुबाउन खोज्ने विरुद्ध माओवादी सचेत भएको बताए।
उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै ओली प्रवृत्तिविरुद्ध आफ्नो लडाइँ रहेको बताए। हामीले सबै स्वार्थ त्याग गर्न तयार भएर नै वर्तमान अवस्थामा सफलता हासिल भएको उनको भनाइ थियो। उहाँले आगामी निर्वाचनमा ढुक्क भएर लाग्न आग्रह गरे। “कर्णाली भनेको माओवादीको आधार इलाका हो”, उहाँले भन्नुभयो, “तपाइँहरु आगामी निर्वाचनमा पहिलो शक्तिका रूपमा स्थापित हुने गरेर मैदानमा होमिनुस्।”
उनले एमसिसीको विषयमा माओवादीले देशलाई ठूलो दुर्घटनाबाट बचाएको बताए। एमसिसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको उनको भनाइ थियो। उनले भने, “हामीले अन्ततः केन्द्रीय समितिबाट पार्टीलाई एकताबद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन अभियानमा जाने र यो विषयमा भएका मतभेदलाई एउटा फोरममार्फत निष्कर्ष निकाल्ने भनेर केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेपछि एमसिसीसम्बन्धी सम्पूर्ण विषयको समाधान भएको छ।”
अहिलेको सत्ता गठबन्धन स्थानीय चुनावसम्मा जाने र सकेसम्मा अझै परसम्मा लैजाने योजनासमेत रहेको उनको भनाइ थियो। अध्यक्ष प्रचण्डले माओवादी केन्द्र पार्टीले पार्टीलाई एकताबद्ध गर्दै निर्वाचन अभियानको कार्यक्रम तयार पारिएकाले हाल त्यसैको अभियानमा हिँडेको बताए।