काठमाडौँ - १३ वर्षपछि जेम्स क्यामरुन निर्देशित हलिउड साइन्स-फिक्सन फिल्म ‘अवतार’ नेपाली हलमा पुनः प्रदर्शनमा आएको छ। सीमित पर्दामा रिलिज भएको फिल्मलाई पलिोपटक हेर्ने र दोहोर्याएर हेर्ने दर्शक छन्।
रि-मास्टरिङसहित फोरके रिजोलुसनमा रिलिज भएको फिल्म दशकपछि हेर्दा पनि उत्तिकै जीवन्त र शक्तिशाली लाग्छ। फिल्मको दोस्रो श्रृंखला पुस १ गते प्रदर्शन हुने तयारीमा रहेको छ। दर्शकलाई दोस्रो भाग देखाउनुअघि डिज्नेले पहिलो भागको रि-रिलिज गरेको हो।
नेपाल वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टका अनुसार फिल्मले २ दिनमा २० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ। सीमित हलमा रिलिज भएको फिल्मलाई सीमित समयका लागि मात्र हेर्न पाइनेछ।
‘अवतार’को पुनः प्रदर्शनबाट फिल्मले पहिलो सप्ताहन्त अन्तर्राष्ट्रिय बजारमा २५ मिलियन डलर कमाउने प्रक्षेपण गरिएको छ। शुक्रबार १३ विदेशी बजारमा ७.७ मिलियन डलर कमाइ भएको छ।
भारतमा भएको पुनः प्रदर्शनमा फिल्मले शुक्रबार १.७५ करोड भारु कमाएको छ। अवतार: द वे अफ वाटर पुस १ गते प्रदर्शनको तयारीमा छ। यो फिल्मलाई लिएर विश्वभर पर्खाइ छ।