कार्यकर्ताहरूलाई इमान नगुमाउन ओलीको चेतावनी

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी बहन गर्न छोडेको भन्दै कार्यकर्ताहरूलाई इमान नगुमाउन चेतावनी दिएका छन्। बुधबार एमाले वागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गत निर्वाचन परिणामको एक उदाहरण दिँदै कार्यकर्तामा इमानभन्दा बढि बेइमानी बढेको देखिएको बताए।

‘सामूहिक निर्णय हुन छोडेको छ, व्यक्तिगत जिम्मेवारी बहन हुन छोडेको छ’, उनले भने, ‘एउटा पालिकाको एउटा वडामा त्यहाँ वडा कमिटी छ, जनसंगठन सबै छन्। वडा कमिटी ३९ जनाको छ। मताहतमा सदस्य थुप्रै छन्। त्यहाँ पदका लागि मारामार हुन्छ तर वडाको चुनावमा भोट २४ वटा आउँछ।’

उनले त्यो भन्दा बेइमानी, लज्जास्पद र घटिया केही नहुने भन्दै त्यसरी पार्टी नचल्ने चेतावनी दिए। ‘वडा कमिटीमा ३९ जना बस्ने, भोट २४ जनाले हाल्ने हुन्छ? विचार गर्नुस् त सुन्दा कस्तो लाग्यो? यसरी पार्टी चल्दैन। त्यो मति भ्रष्ट र बुद्धिको दुरुपयोग हो’, उनले एमालेको कार्यकर्ता त्यस्तो हुन नहुने बताए। उनले बुर्जुवाहरूले तय गरेका थेउरीहरुमा समेत जवाफदेही र उत्तरदायित्व नबिर्सने भन्दै त्यति पनि कम्युनिस्टहरूमा नदेखिनु चिन्ताको विषय भएको बताए।

‘आफ्नै पार्टीविरुद्ध प्रचार गर्ने, खुसखुस गर्ने। सबै ठाउँमा मैले देखेको त छैन, तर परिणामले बोलेको छ’, ओलीको भनाइ छ। उनले कार्यकर्ताहरूलाई नीजि हितभन्दा संस्थागत हितमा लाग्नुपर्ने बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×