काठमाडौँ - इण्डियन आइडल सिजन १२ का विजेता पवनदीप राजन वैशाख ११ गते सांगीतिक कार्यक्रमका लागि नेपाल आउने भएका छन्। काठमाडौंको ठमेलस्थित एलओडी क्लबमा रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गर्ने कन्सर्टका लागि उनी नेपाल आउने भएका हुन्।
कार्यक्रमको व्यवस्थापनको जिम्मा भने ३६५ इभेन्ट्स एण्ड मिडियाले लिएको एलओडीले जनाएको छ। यसैगरी होटल याक एण्ड यतिमा हुने अर्को कार्यक्रममा पनि पवनदीप सहभागी हुनेछन्।
एलओडीमा हुने कार्यक्रमका लागि २५ सय र ३ हजार रुपैयाँ दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम सामाजिक कार्यका लागि उपलब्ध गराइने आयोजकले जनाएको छ।
यसअघि कोरोना महामारीका कारण स्थगित पवनदीपको सांगीतिक कार्यक्रम यसपटक भने भव्य रुपमा सफल हुने अपेक्षा आयोजकले राखेका छन्।