नुवाकोट - नुवाकोटको बेलकोटगढी नगरपालिकाले नगरका विभिन्न स्थानका रोपोमा देखिएको गवारो किरा नियन्त्रणका लागि प्राविधिक टोली परिचालन गरेको छ।
प्राविधिकको अध्ययनअनुसार गवारो किराले धानको गुवो खाएर हरियो रोपो पहेँलो हुन थालेसँगै विषादी प्रयोग गरेर नियन्त्रणमा लिन लागिएको कृषि शाखा प्रमुख दामोदार दाहालले जानकारी दिए। उनका अनुसार किरा फैलिएका क्षेत्रको पहिचान गरेर प्राकृतिक उपाय तथा जैविक विषादीमार्फत नियन्त्रणको प्रयास गर्ने र त्यो सम्भव नभएमा कमभन्दा कम विषादीको समेत प्रयोग गर्न प्राविधिक टोली खटाइएको हो।
“गवारो किराको प्रकोप सबैभन्दा धेरै बेलकोटगढी नगरपालिका–२ र ३ स्थित कुमरीको हजारौँ रोपनी क्षेत्रफलमा लगाइको रोपोमा फैलिएको छ।” कृषि शाखा प्रमुख दाहालले भने, “जनप्रतिनिधिको सहयोगमा प्राविधिक कर्मचारीले गवारो किरा फैलिएका क्षेत्रको पहिचान गर्दै प्राकृतिक तथा जैविक विषादीको प्रयोग गर्ने र त्यसो गर्दा नियन्त्रण सम्भव नभएमा सरकारी सिफारिस सूचीमा उल्लेख भएअनुसारको विषादी प्रयोग गर्न भनिएको छ।”
बेलकोटगढीको वडा नं २ र ३ सहित आसपासका क्षेत्रमा रोपिएको धान पछिल्लो एक साता अवधिमा हरियोबाट पहेँलो हुन थालेसँगै गवारो किरा भएको पहिचान गरिएको हो। गवारो को समस्या बेलकोटगढी सहित अन्यत्रसमेत देखा पर्न थालेकाले समयमै सावधानी अपनाउन कृषि ज्ञान केन्द्रका प्रमुख केशव खनालले अनुरोध गरे। उनका अनुसार पुतली वर्गअन्तर्गतको गवारो लार्भाले रोपोको गुवो खाने गर्दछ। यसको असरले धानमा बाला नलाग्नेदेखि समयमै नियन्त्रण गर्न नसकेमा रोपो (बिरुवा) नै नष्ट हुने गर्दछ।