मोरक्कोलाई हराउँदै साविक विजेता फ्रान्स विश्वकपको फाइनलमा

काठमाडाैँ - साविक विजेता फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार अल बेयत रंगशालामा भएको सेमिफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै फ्रान्सले उपाधि भिडन्तमा अर्जेन्टिनासँगको भेट पक्का गरेको हो।

फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले १-१ गोल गरेका थिए। खेलको सुरुवातमै अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा अर्को गोल थपेको हो। खेलको चौथो मिनेटमा हर्नान्डेजले फ्रान्सलाई अग्रता दिलाए। दोस्रो हाफको ७९ औं मिनेटमा फ्रान्सले अग्रता दोब्बर पार्यो। रान्दल कोलो मुआनीले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरेका थिए।

फ्रान्सले अब उपाधि रक्षाका लागि आइतबार राति अर्जेन्टिनाको सामना गर्नेछ। यी दुवै टोली जारी विश्वकपमा १/१ खेलमा पराजित भएका छन्। समूह चरणको पहिलो खेलमा अर्जेन्टिना साउदी अरेवियासँग पराजित भएको थिय । समूह चरणकै अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग पराजित भएको थियो।

अन्तिम १६ मा फ्रान्सले पोल्याण्डलाई र अर्जेन्टिनाले अष्ट्रेलियालाई पराजित गरेको थियो। क्वार्टरफाइनलमा फ्रान्सले इंग्ल्याण्डलाई पराजित गरेको थियो। अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो। १९९८ मा पहिलो पटक ब्राजिललाई पराजित गर्दै उपाधि जितेको फ्रान्सले गएको विश्वकपमा क्रोएसियालाई पराजित गर्दै दोस्रो पटक उपाधि उचालेको थियो।

अर्जेन्टिनाले १९७८ मा नेदरल्याण्ड्सलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। १९८६ मा जर्मनीलाई पराजित गर्दै अर्को उपाधि थप्यो। त्यसपछि २ पटक फाइनलमा पुगे पनि अर्जेन्टिनाले उपाधि थप्न सकेको छैन। १९९० र २०१४ मा जर्मनीसँग फाइनलमा पराजित भएको थियो। त्यसअघि पहिलो विश्वकपमा पनि अर्जेन्टिना फाइनलमा पुगेको थियो।  यो सँगै अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल खेल्न लागेको हो।

फ्रान्स भने यसअघि फाइनलमा एक पटक मात्रै पराजित भएको छ। २००६ मा इटलीसँग पराजित भएको थियो। यो उसको चौथो फाइनल हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×