काठमाडौँ - राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा साविक विजेता भारतले पाकिस्तानलाई पराजित गर्दै प्रतियाोगितामा सुखद सुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा मैदानमा भएको खेलमा भारतले पाकिस्तानलाई ३-० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। पाकिस्तानको आत्मघाती गोलबाट भारतले पहिलो अग्रता लियो। खेलको २१औँ मिनेटमा पाकिस्तानकी कप्तान मारिया खानले आफ्नै पोष्टमा आत्मघाती गोल गरिदिएपछि भारतले पहिलो अग्रता लिएको हो।
मारियाले गोल गरेको २ मिनेट पनि बित्न नपाउँदै भारतले दोस्रो अग्रता लियो। खेलको २३औँ मिनेटमा भारतीय खेलाडी ग्रेस डाङमीले गोल गर्दै भारतलाई दोस्रो अग्रता दिलाएकी हुन्। त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा भारतकी सौम्या गुगुलोथले १ गोल थप्दै खेललाई ३-० को जित दिलाइन्।
यस जितसँगै भारतले शीर्ष ३ अङ्क जोडेको छ। पाकिस्तानले भने प्रतियोगितमा हारबाट सुरुवात गरेको छ। उक्त प्रतियोगिताअन्तर्गत आज हुने दोस्रो खेलमा माल्दिभ्स र बङ्गलादेश भिड्नेछन्। खेल साँझ साढे ५ बजेदेखि सुरु हुनेछ।
उद्घाटन खेलमा मंगलबार नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो।