काठमाडौँ - पप गायिका मडोनाले आफ्नै जीवन कथामा बन्ने फिल्मको निर्देशन गर्ने भएकी छिन्।
सांगीतिक श्रेणीको फिल्मको हाल धमाधम पटकथा लेखनको काम चलिरहेको छ। यसका लागि मडोना आफैँ पनि खटिइरहेकी छिन्। मडोनाले यो फिल्म इरिन क्रेसिडा विल्सनसँग मिलेर लेखिरहेकी छिन्।
‘लेख्दा लेख्दै स्क्रिप्ट एकदमै लामो भएको थियो। अहिले छोटो बनाउन गाह्रो भइरहेको छ,’ भेराइटीसँगको कुराकानीमा मडोनाले भनेकी छिन्।
मडोनाले थपेकी छिन्, ‘मेरो जीवन असाधारण थियो र फिल्म पनि त्यस्तै हुनुपर्छ। अर्को कुरा, मैले मेरो जीवनीमा फिल्म बनाउन चाहाने कैयौँलाई रोकेकी छु। खासगरी स्त्रीद्धेषी निर्देशकलाई। त्यसैले म आफैँले यो जिम्मेवारी निर्वाह गर्न लागेकी छु। मेरो कथा अरु कसैले भन्दैन, म आफैँ भन्छु।’
अहिलेसम्म नाम जुराइ नसकेको फिल्मले मडोनाको व्यक्तिगत जीवनसँगै सांगीतिक यात्राका क्षणलाई कैद गर्ने तयारी रहेको छ। फिल्म सन् २०२३को मध्यबाट सुटिङमा जाने तयारी रहेको छ।