काठमाडौँ। मोडल एवं व्यवसायी पूर्ण लम्सालले श्रव्यदृश्यसहितको नयाँ गीति एल्बम ‘चोखो माया’ बजारमा ल्याएका छन्।
अमेरिका बसेर कलाकारितामा सक्रिय लम्सालले अभिनय गरेको यो पाँचौँ ‘म्युजिक भिडियो’ हो। मनोरञ्जनात्मक यस गीतमा गायिका रचना रिमाल र गायक रञ्जन राईको सुमधुर स्वर सुन्न सकिन्छ। रवि मल्लको शब्द रहेको यस गीतलाई नवीन कार्कीले सङ्गीत दिएका हुन्। गीतमा विशाल निरौलाले सङ्गीत संयोजन गरेका छन्। अमेरिकामा छायाङ्कन गरिएको गीतमा अन्तर्राष्ट्रिय व्यवसायमा स्नातकोत्तर गरिरहेकी विष्णु मिश्र र मोडल लम्सालबीचको ‘अन्स्क्रिन रोमान्स’ प्रस्तुत गरिएको छ। शैलेश घलेले छायाङ्कन गर्नुभएको दृश्यलाई विष्णु खड्काले सम्पादन गरेका हुन्। विक्की पुलामीको निर्देशनमा दृश्य सामग्री तयार पारिएको हो। पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको जनाइएको छ।