काठमाडौँ - केभिन डी ब्रुयनाको चार गोलप्रेरित म्यानचेस्टर सिटीले बुधबार राति उल्भरह्याम्पटनलाई ५–१ ले पराजित गरेको छ। जितसँगै सिटीले उपाधि प्रतिद्वन्द्वी लिभरपुललाई तीन अंकले पछाडि पारेको छ।
डी ब्रुयनाले सातौं मिनेटमा गरेको गोलबाट सिटीले अग्रता लिएको थियो। ११औं मिनेटमा उल्भरह्याम्पटनका लियन्डर डेन्डोनकरले बराबरी गोल फर्काएका थिए। १६औं मिनेटमा दोस्रो गोल गरेका डी ब्रुयनाले २४औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए। ६०औं मिनेटमा डी ब्रयनाले चौथो गोल गरेका थिए। खेल सकिन ६ मिनेट बाँकी हुँदा रहिम स्टर्लिङले पाँचौं गोल गरेका थिए।
लिगमा अब दुई खेल खेल्न बाँकी छ। यस्तो अवस्थामा सिटीले लिभरपुललाई तीन अंकले पछाडि छाडेको छ। त्यस्तै गोल अन्तरमा पनि लिभरपुलभन्दा सिटी ७ गोलले अगाडि छ।
लिभरपुलले मंगलबार राति एष्टन भिल्लालाई २–१ ले हराएको थियो। लिभरपुलले अब साउथह्याम्पटन र उल्भरह्याम्पटनसँग खेल्न बाँकी छ। सिटीले अब वेष्ट ह्याम र एष्टन भिल्लाविरुद्ध खेल्न बाँकी छ।
सिटीलाई गएराति पुनः अर्को धक्का लागेको छ । सेन्टर रक्षक एमेरिक लापोर्टेले घुँडाको चोटका कारण मैदान छाडेका थिए। यसअघि नै सिटीका तीन रक्षक रुवेन डियाज, काइल वाल्कर र जोन स्टोन्स घाइते भएका थिए। तीनैजनाले यो सिजन गुमाउने पक्का भएकाे छ।