काठमाडौँ - युइएफए नेसन्समा नेदरल्याण्डसले वेल्समाथि रोमाञ्चक जित निकालेको छ। गएराति भएको खेलमा नेदरल्याण्डसले वेल्सलाई उसैको मैदानमा २-१ गोल अन्तरले पराजित गरेको हो।
नेदरल्यान्डसको जितमा टिउन कुपमेइनर्स र वोउट वेगह्रस्टले समान १/१ गोल गरेका थिए। वेल्सका रेज नोरिङटन डेभिसले गरेको गोल सान्त्वना गोल बन्यो।
खेलको ५०औं मिनेटमा टिउन कुपमेइनर्सले गोल गर्दै नेदरल्याण्डसलाई अग्रता दिलाएका थिए। उनले जेर्डी स्काउटेनको पासमा गोल गरेका थिए।
त्यसपछि डच टोली जिततर्फ अग्रसर रहँदा इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा वेल्सका रेज नोरिङटन डेभिसले बराबरी गोल फर्काएका थिए। इन्ज्युरी समयकै थप गरिएको चौथो मिनेटमा वोउट वेगह्रस्टले गोल गर्दै टोलीको जित पक्का गरेका थिए।
यो जितसँगै नेदरल्यान्डस दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ। ३/३ अंक रहँदा बेल्जियम दोस्रो तथा पोल्यान्ड तेस्रो स्थानमा छ।