काठमाडौँ - नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बू (चेम्जोङ) माल्दिभ्सको शीर्ष डिभिजन लिग दिवेही प्रिमियर लिग-२०२२ को सर्बोत्कृष्ट गोलरक्षक घोषित भएका छन्।
माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट खेलेका गोलरक्षक किरण सिजनको उत्कृष्ट गोलरक्षक चुनिएका हुन्। किरणले माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन्। यसअघि उनले सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षक जितेका थिए।
यता, माल्दिभ्समा किरणको दोस्रो लिग उपाधिसमेत हो चौथो पटक शीर्ष डिभिजन लिग जितेको माजियाले ह्याट्रिकसमेत गरेको छ। ह्याट्रिक गर्ने क्रममा यस सिजन २१ मध्ये २० खेलमा जित हासिल गरेको छ। १ खेलमा हार व्यहोरेको छ।
यस सिजन माजियाले २१ खेलबाट ६० अंक जोडेको छ। दोस्रो स्थानमा रहेको क्लब इगल्स ४६ अंक जोडेको छ। उसले ८५ गोल गर्दा ५ गोल मात्रै व्यहोरेको छ।