चितवन राइनोजका बायाँ हाते युवा स्पिनर रन्जित कुमारको उत्कृष्ट प्रदर्शनले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा रन्जितले ५ विकेट लिँदै चितवनलाई ४८ रनको जित दिलाए।
१७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १२६ रनमै अलआउट हुँदै लगातार तीन खेलको विजयी यात्रापछि पहिलो हार बेहोर्न बाध्य भयो। खराब सुरुवातसँगै शीर्ष तीन ब्याटर दोहोरो अंकमा पुग्न नपाउँदै आउट भए। लोकेश बम ७, जर्ज मुन्से ४ र नरेन भट्ट ४ रनमा पभेलियन फर्किए।
यो सिजन पहिलोपटक खेल्ने मौका पाएका चितवनका स्पिनर रन्जितले पाँचौ ओभरमै खेलको मोड परिवर्तन गरिदिए। उनले साम हिजलेटलाई २२ रनमा एलबिडब्ल्यू गर्दै पहिलो विकेट लिए भने उही ओभरमा बसिर अहदमलाई शून्यमा आउट गराउँदै दोस्रो विकेट हात पारे। एघारौं ओभरमा उनले नारायण जोशी (१०) र सूर्य तामाङलाई (०) आउट गर्दै पाँच विकेट पूरा गरे।
विराटनगरका लागि मर्स्याङ डि लाङले आक्रामक ३९ रन (२२ बल) बनाए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्। अन्त्यतिर प्रतिश जिसीले ३० रन जोडे तर कुशल मल्लको बलमा आउट भएपछि विराटनगर अलआउट भयो।
चितवनका बलरहरू मध्ये रन्जितले ४ ओभरमा २१ रन दिँदै ५ विकेट लिए भने कमलसिंह ऐरीले २ विकेट पाए। सोहेल तन्विर, सइफ जइब र कुशल मल्लले समान एक–एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १७४ रन बनाएको थियो। रवी बोपाराले ६५ रनको अर्धशतकीय पारी खेले। देव खनालले २८ रन जोड्दा साइफ जइबले ३२ रनको योगदान दिए। कप्तान कुशल मल्ल २० रनमा नटआउट रहे।
बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्स्याङ डि लाङले २–२ विकेट लिए। आजको खेलपछि सन्दीप जारी सिजनमा सर्वाधिक विकेट लिने बलर बनेका छन्। उनले चार खेलमा ९ विकेट लिएका छन्।
चितवनले यस जितसँगै प्लेअफको यात्रा सहज बनाउँदै दोस्रो पटक जित दर्ता गराएको छ।
.png)
.png)
.png)
.png)
.png)
.png)

.jpg)
