काठमाडौँ - ‘कबड्डी ४’ रिलिजताका भिक्षुलाई थप्पड हानेको घटनापछि अभिनेत्री मिरुना मगर मिडियाबाट ओझेलमा रहिन्। ग्राजुएसनका लागि लण्डन पुगेकी उनी लामो समय त्यतै बसिन्।
उनको लण्डन प्रस्थान परिवारलाई भेट्नु र ग्राजुएसनमा भाग लिनु मात्र थिएन, बरु आफूविरुद्ध नेपालमा भइरहेका ‘कन्ट्रोभर्सी’बाट टाढा बस्नु पनि थियो। उनै मिरुना यतिबेला फेरि नेपाल फर्किएकी छिन्।
नेपाल फर्किएर काम गर्ने उनको योजना छ। तत्काल उनको हातमा फिल्म छैन तर उनी अभिनित फिल्म ‘जारी’ वैशाख १ गते रिलिजको तयारीमा छ। उनले आफू केही समय म्युजिक भिडियोसहित प्रोजेक्टको काममा व्यस्त हुने बताएकी छिन्। उनी अभिनित म्युजिक भिडियो ‘कालो केशमा रेलिमाई’को फिमेल भर्सन यसैसाता रिलिज भएको छ। अन्य केही म्युजिक भिडियो उनको पाइपलाइनमा छन्।
मिरुना अन्तर्राष्ट्रिय विकास विषयकी विद्यार्थी समेत हुन्। यही विषयमा उनले लण्डनको एक विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेकी छिन्। तत्काल फिल्म नगर्ने योजना सुनाउँदै उनले आफू केही समय म्युजिक भिडियो र अन्तर्राष्ट्रिय विकासको विषयमा गैरसरकारी संस्थासँग मिलेर काम गर्ने उनले जानकारी दिएकी छिन्।
मिरुना अभिनित फिल्म ‘कबड्डी ४’ ले नेपालमा मात्रै २४ करोड कमाउँदै कीर्तिमान रचेको थियो। विवादका कारण भारतको सिक्किममा यो फिल्मलाई प्रतिबन्ध लगाइयो भने डायस्पोराबाट मात्र फिल्मले १० करोड हाराहारीमा कमाइ गरेको छ।