काठमाडौँ - दारी फुल्यो वैँशैमा, एक कान दुई कान मैदान, गलबन्दी पछ्यौरी, ए मुना लगायतका हिट गीतका गायक आशिष सचिनलाई ओएसआर डिजिटलले अनुबन्धित गरेको छ।
ओएसआरले गायक आशिषलाई वार्षिक ३० लाख रुपैयाँ दिने गरी अनुबन्धित गरेको हो। सम्झौता अनुसार गायक आशिष सचिनले एक वर्षसम्म ओएसआर डिजिटलको निर्माण र ब्यानरमा बन्ने विज्ञापनका सामाग्री सहित म्यूजिक भिडियोमा काम गर्नुपर्नेछ।
एक वर्षको अवधिमा ओएसआरसँग गायक आशिषले ८ वटा गीतसहित वर्षभरी आउने विज्ञापनको काम गर्नुपर्नेछ। पछिल्ला दिनमा गायक आशिषले लगातार ओएसआरमार्फत आफ्ना म्यूजिक भिडियो बजारमा ल्याइरहेका छन्। गायन सँगसँगै म्यूजिक भिडियोको अभिनयमा समेत अब्बल मानिएका आशिषले अभिनय गरेको पछिल्लो म्यूजिक भिडियो छमक छमक तेरी पाउजुले चर्चा बटुल्न सफल भएको छ।
गायक आशिषको दारी फुल्यो वैँशैमा बोलको गीतले करिब ९ करोड ७० लाख (९७ मिलियन) दर्शक पाइसकेको छ। जुन गीत नेपालमा सर्वाधिक बढी हेरिने र सुनिने गीतको सूचिको शीर्ष स्थानमा रहेको छ।