काठमाडौँ । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको सक्रियतामा १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि हुने पुनः मतदानमा निर्वाचनमा सभापतिका प्रत्यासी प्रकाशमान सिंहले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिका प्रत्यासी शेरबहादुर देउवालाई सघाउने भएका छन्।
कांग्रेस सभापतिका लागि पहिलो चरणमा भएको निर्वाचनमा कुनै पनि उम्मेद्वारले आवश्यक बहुमत नल्याएपछि दोस्रो चरणमा निर्वाचन हुने निश्चित भएको र त्यसका लागि यो निर्वाचनमा पहिलो र दोस्रो स्थानमा मत ल्याएका उम्मेदवार प्रधानमन्त्री देउवा र नेता डा शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ। त्यस लगत्तै गृहमन्त्री खाँण र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश प्रमुख वीरबहादुर बलायर आज बिहान सभापतिका प्रत्यासी प्रकाशमान सिंहलाई भेट्न सिंह निवास चाक्सीबारी पुगी पुनः मतदानमा देउवालाई सघाउन आग्रह गरेका छन्। उनीहरूले सिंहलाई मिलेर अघि बढ्न र पार्टीलाई सशक्त बनाउन अबको निर्वाचनमा देउवालाई सहयोग गर्न प्रस्ताव राखेको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ। उनीहरूको सो प्रस्तावपछि सिंहले आफूले आफ्ना टिमका साथीहरूसँग छलफल गरेर निर्णय गर्ने बताए। प्रधानमन्त्री देउवाले पनि सिंह निवास चाक्सीबारी पुगेर सहमति गरेका हुन्।
सहमतिपश्चात नेता सिंहले अबको पुनः मतदानमा देउवालाई समर्थन गर्ने बताएका हुन्।