काठमाडौँ - दाजीलिङमा बसोबास गर्दै आइरहेकी वरिष्ठ गायिका दावा ग्याल्मो आफ्नो नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन्। गायिका ग्याल्मो करिव साढे २ दशकपछि नयाँ गीतमार्फत प्रस्तुत भएकी हुन्।
‘तिमी सित हिँडे…’ बोलको उक्त गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ।
यसअघि शहर भित्र के को हल्ला, रात गहिरिँदै जान्छ जस्ता लोकप्रिय गीतमार्फत दर्शक तथा स्रोताको मनमा बस्न सफल भैसकेकी गायिका दावा ग्याल्मोको नयाँ गीतले पनि दर्शक तथा स्रोताको मन जित्न सक्ने सम्भावना बोकेको छ।
‘तिमी सित हिँडे’ गीतलाई वरिष्ठ संगीतकार वसन्त क्षेत्रीले संगीतबद्ध गरेका हुन्। वरिष्ठ गीतकार प्रकाश सायमीले यो गीतका शब्दहरु रचना गरेका हुन्। नोर्बु शेर्पाले यो गीतमा संगीत संयाजकसमेत गरेका छन्।
यो गीतको म्युजिक भिडियो आकर्षक बनेको छ। भिडियोलाई भावेश सि ठकुरीले छायांकन तथा सम्पादन गरेका हुन्। रोहित कुमार देवानद्वारा निर्माण गरिएको यो भिडियोलाई अभिनेता तथा निर्देशक किरण ठकुरीले निर्देशन गरेका हुन्। ठकुरी पुरानो नेपाली फिल्म ‘बाँच्न चाहनेहरु’ का अभिनेतासमेत हुन्।
यो गीतको म्युजिक भिडियोमा किशन सार्की, श्रीनिता सुब्बा, रोहितकुमार देवान तथा गायिका दावा ग्याल्मोलाई फिचर्ड रहेका छन्।