सुर्खेत। कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित ‘कर्णाली प्रदेश सङ्ग्रहालय’को विकासमा सहयोग पुर्याउन पहल गर्ने बताएका छन्।
विभिन्न जाति, धर्म, संस्कृति, भाषासँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक वस्तु तथा सामग्रीको अवलोकन गर्न आज अपराह्न प्रदेश सङ्ग्रहालय पुगेका प्रदेश प्रमुख परियारले त्यसको महत्व बढाउन सङ्ग्रहालयको विकास आवश्यक रहेको बताए। “मैले आज सङग्रहालयमा ऐतिहासिक तथा पुरातात्विक महत्वका वस्तु हेर्ने मौका पाएँ”, उनले भने, “अवलोकन गर्दा थुप्रै कमीकमजोरीका बाबजुद सङ्ग्रहालय चलेको पाइयो।”
सङ्ग्रहालयको पहिलो, दोस्रो ग्यालोरी र पुस्तकालय अवलोकन गरेका उनले पुरानो इतिहासलाई जीवित राख्न सकिए भावी सन्ततिलाई शिक्षा प्रदान गर्ने भन्दै आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षणका लागि यसको प्रवर्द्धन गर्नुपर्ने र यसमा तीनै तहका सरकारको सहकार्य अपरिहार्य रहेको औँल्याए। यसका लागि कर्णाली प्रदेश सरकारले विशेष ध्यान पु¥याउने र त्यसमा आफ्नो क्षेत्रबाट निरन्तर पहल रहने उनको भनाइ थियो।
कर्णाली प्रदेश सङ्ग्रहालय सुर्खेतका प्रमुख अर्जुनबहादुर शाहीले प्रदेशप्रमुख परियारको अवलोकनले यसको गरिमा बढाएको प्रतिक्रिया दिए। “प्रदेश सरकार नजिक रहँदा पनि ओझेल रहेजस्तो सङ्ग्रहालयमा उनको आजको अवलोकनले प्रदेश तथा स्थानीय सरकारका नेतृत्वलाई अवलोकन संस्कृतिको सन्देश दिएको छ”, प्रमुख शाहीले भने, “यसले अवलोकन, अध्ययन तथा अनुसन्धान प्रक्रियामा पनि सहयोग पुर्याएको छ।”
सङ्ग्रहालयको कम अवलोकन, जनशक्तिको अभाव, अध्ययन अनुसन्धानमा सरकारले चासो नदिनु, वस्तु सङ्कलन तथा कार्यालयका लागि आवश्यक सवारी साधनको अभाव हुँदा यसको अपेक्षाकृत विकास हुन नसकेको उनको भनाइ थियो।