काठमाडौँ - नेपाली मिडफिल्डर रोहित चन्दसम्मिलित पेर्सिक केडिरी एफसीले ब्राजिली लेजेन्ड रोनाल्डिन्होसम्मिलित रेन्स नुसनतारा एफसीविरुद्ध खेल्ने भएका छन्।
इन्डोनेसियन लिग वान क्लब पेर्सिकले रोनाल्डिन्होसम्मिलित रेन्स नुसनतारा एफसीसँगै एरेमा एफसी सम्मिलित ट्रफियो नामक प्रतियोगिता खेल्ने पक्का भएको पुष्टि गरेको छ। प्रतियोगिता आइतबारदेखि मालाङस्थित कान्जुरुहान स्टेडियममा हुने भएको छ।
पेर्सिकले खेलेको पछिल्ला दुई खेलमा पहिलो रोजाईमै मौका पाएका रोहितले बालोन डि’ओरसँगै ब्राजिलका लागि विश्वकप, कोपा अमेरिका कपसँगै क्लब फुटबलबाट थुप्रै उपाधि जितिसकेका रोनाल्डिन्होविरुद्ध खेल्ने सम्भावना उच्च रहेको छ।
चर्चित इन्डोनेसियन सेलिब्रिटी गायक तथा टिभी पर्सनलिटी रफी अहमद र रुडी सलिमको स्वामित्वमा रहेको रेन्स नुसनतारा एफसी यसै सिजन इन्डोनेसियाको दोस्रो डिभिजन लिग टुबाट शीर्ष डिभिजनमा बढुवा भएको क्लब हो।
रेन्सले पेर्सिकसँगै एरेमा एफसी सम्मिलित ट्रफियो नामक प्रतियोगिता खेल्दैछ। क्लबले रोनाल्डिन्होसँग व्यवसायिक सम्झौता गर्ने सम्भावना रहेपनि यसबारेमा केही खुलाइएको छैन।
४२ वर्षीय रोनाल्डिन्होले क्लब फुटबलमा बार्सिलोना, पिएसजी र एसी मिलान जस्ता चर्चित क्लबबाट व्यवसायिक खेल पस्कदै आफ्नो कला देखाइसकेका छन्।