काठमाडौँ - भारतीय टोलीमा फर्केका अनुभवी विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकले पाकिस्तानका कप्तान बाबर आजम चाँडै नै तीन वटै फर्म्याटमा नम्बर एक ब्याट्सम्यान बन्ने विश्वास व्यक्त गरेका छन्।
बाबर अहिले टी–२० र एकदिवसीयमा नम्बर एक ब्याट्सम्यान हुन्। कार्तिक छिट्टै नै तीन वटै फर्म्याटमा बाबर नम्बर एक हुने इतिहासकै पहिलो ब्याट्सम्यान बन्नेमा विश्वस्त छन्।
कार्तिकले भने, ‘उनी तीन वटै फर्म्याटमा शीर्ष स्थानमा पुग्ने शतप्रतिशत निश्चित छ। उनी एक क्लास खेलाडी हुन्, जो हाल आफ्नो ब्याटिङको शीर्षमा छन्। उनी तीनवटै ढाँचामा खेल्दा फरक–फरक क्रममा ब्याटिङ पनि गर्न सक्छन्। उनले आगामी केही समयको लागि धेरै टेस्ट क्रिकेट पनि खेल्नुपर्छ। मलाई लाग्छ उनिसँग त्यो क्षमता छ र उनले गर्न सक्छन्।’
कार्तिकले भने, ‘ब्याटिङ गर्दा उनको सन्तुलन र टाइमिङ स्पष्ट देखिन्छ। फ्रन्टफुट होस् वा ब्याकफुट, उनी बललाई प्रहार गर्छन्। यही कारणले उनलाई विशेष खेलाडी बनाएको छ।’