काठमाडौँ - कतार विश्व कप २०२२ को नेपालमा प्रत्यक्ष प्रसारण अधिकार मिडिया हबले पाएको छ। नेपालमा विभिन्न टेलिभिजनको माध्यमबाट मिडिया हबले विश्व कप प्रसारण गर्ने राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ। विश्व कप मंसिर ४ गते देखि पुस ३ गते सम्म सञ्चालन हुनेछ।
कार्यक्रममा मिडिया हबका अध्यक्ष सोम प्रसाद धितालले कतार विश्व कप २०२२ को नेपालको भू-सतही, स्याटलाइट, डि.टि.एच, केबल, ब्रोडब्याण्ड एवं मोबाइल तथा अन्य विद्युतिय प्रसारणको एकाधिकार प्राप्त गरेको जानकारी दिएका छन्।
नेपालमा कतार विश्व कप २०२२ को लोगो र मस्कट प्रयोग, प्रसारण, प्रायोजन र प्रतिलिपीको सम्पूर्ण अधिकार मिडिया हब प्रा. लि.मा मात्रै सिमित पनि धितालले प्रष्ट पारेका छन्।
सोही अवसरमा मिडिया हब तथा टेलिभिजन सिग्नल प्रदायक संस्थाहरु एनआईटिभी स्ट्रीम्ज् र भायानेट कम्युनिकेशन्स प्रा.लि.संग पनि सहकार्यको लागि छुट्टा-छुट्टै सम्झौतामा हस्ताक्षर भएको थियो।
मिडिया हब अध्यक्ष धितालले तथा भायानेट कम्युनिकेशन्स प्रा.लि.का तर्फबाट कम्पनिका निर्देशक विनय बोहरा र एनआईटिभी स्ट्रीम्ज् तर्फबाट कम्पनिका अध्यक्ष मनोज कुमार अग्रवालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार ती दुई कम्पनीमार्फत टेलिभिजन लाईन लिएका नेपाली दर्शकहरुले अब कतार विश्व क २०२२ को प्रत्यक्ष प्रशारण हेर्न सक्ने पक्का भएको बताइएको छ।
त्यस्तै मिडिया हबले कतार विश्व कपको विज्ञापन विक्री प्रबन्धको लागि एडप्याड एक्युजिशन मार्केटिग पार्टनरको रुपमा रहनेछ। मिडिया हबका अध्यक्ष धिताल र एडप्याड एक्युजियशनका तर्फबाट प्रबन्ध निर्देशक सुरज गिरीले हस्ताक्ष गरेका छन्।
विश्वकप फुटबल नेपाली दर्शकले सर्वाधिक हर्ने र रुचाएको अन्तर्राष्ट्रिय प्रतियोगिता भएको उल्लेख गर्दै मिडिया हबका अध्यक्ष धिताले टेलिभिजन च्यानल र सेवा प्रदायक संस्थाहरुसंग सहकार्य गरेपछि विश्व कप दर्शकले सहजै हेर्न पाउने बताएका छन्।