हनुमानढोकामा इन्द्रध्वजोत्थान

काठमाडौँ - हनुमानढोका दरबार क्षेत्रमा विधिपूर्वक इन्द्रध्वजोत्थान गरिएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गर्ने सांस्कृतिक परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान ७ः१७ बजेको साइतमा विधिपूर्वक इन्द्रध्वजोत्थान गरिएको हो। इन्द्रध्वजोत्थान गरिएसँगै यस वर्षको सांस्कृतिक पर्व इन्द्रजात्रा पनि सुरु भएको छ।

दरबार क्षेत्रमा आज इन्द्रध्वजोत्थान गरिएसँगै यही भदौ २४ गते शुक्रबार मुख्यरुपमा जात्रा सुरु गरिन्छ। जात्राको मुख्य दिन तल्लो टोलमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथयात्रा चलाइन्छ। भदौ २५ गते शनिबार माथिल्लो टोलमा रथयात्रा गरिन्छ।

भदौ २९ गते बुधबार नानिचा यात्रा गरिन्छ। त्यसै दिन बेलुकी ७ः३३ बजे इन्द्रध्वनपातनको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले  जानकारी दिए। यसै दिन इन्द्रध्वजपातन गरेपछि राष्ट्राध्यक्षले हनुमानढोका दरबार पुगी श्रीकुमारीबाट इन्द्रजात्राको प्रसाद ग्रहण सांस्कृतिक परम्परा रहिआएको छ।

सांस्कृतिक पर्यटनका प्रमुख आकर्षण इन्द्राजात्राः मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले इन्द्रजात्रा नेपालको सांस्कृतिक पर्यटनका लागि प्रमुख आकर्षण रहेको बताएका छन्। काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा सुरुवातको अवसरमा आज हनुमानढोका पुगेका मन्त्री श्रेष्ठले इन्द्रजात्रासँगै यहाँका अनगिन्ती मूर्त-अर्मूत संस्कृति र सम्पदाको प्रचार-प्रसारबाट पर्यटकलाई आकर्षण गर्न सकिने बताए।

मुलुकको सांस्कृतिक धरोहरका रूपमा रहेको इन्द्रजात्राको काठमाडौँ उपत्यकामा मनाइने अन्य जात्रा र चाडपर्वमध्ये विशिष्ट स्थान रहेको उनले सुनाए। नेपालका विभिन्न जातजातिका संस्कृति, संस्कार, परम्परा, जीवनशैली पर्यटक लोभ्याउने खालका रहेको बताउँदै उनले संस्कृति र सम्पदालाई पर्यटनसँग जोडेर स्थानीय जनताको जीवनस्तर उकास्ने आफ्नो कार्ययोजना रहेकामा जोड दिए। सांस्कृतिक सम्पदाको प्रवद्र्धनमार्फत पर्यटकलाई आकर्षित गर्ने र नेपालको समृद्धिमा यसलाई उपयोग गर्न सकिने मन्त्री श्रेष्ठको भनाइ छ।

काठमाडौँको हनुमानढोका अगाडि विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो ठड्याइएपछि इन्द्रजात्रा सुरुवात भएको मानिन्छ। ८ दिनसम्म वर्षा र सहकालका देवता इन्द्र पूजन गरिन्छ।

विभिन्न देवी-देवतासँग सम्बन्धित नाचगान साथै कुमारी, भैरव र गणेश रथयात्रा गर्दै यो पर्व मनाउने गरिन्छ। जात्रा पर्व सञ्चालनका लागि प्रदान गरिने अनुदान समयसापेक्ष बनाउनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×