काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका क्रममा मोरङमा भएको जिल्ला अधिवेशनमा सभापतिका तीनजना उम्मेदवारमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन सकेकाले पुनः निर्वाचन हुने पार्टी कार्यालयले जनाएको छ।
मोरङ कांग्रेसको सभापति चयन गर्न दोस्रो चरणको निर्वाचन हुने भएको छ। सभापतिका उम्मेदवार डिगबहादुर लिम्बूले एक हजार ५४४, दिलीप गच्छदारले एक हजार १५९ र यदु विष्टले ५६३ मत प्राप्त गरेका थिए। कांग्रेसको विधानअनुसार सभापतिले बहुमत प्राप्त गर्न बदर मत बाहेक खसेको मतको कम्तीमा ५१ प्रतिशत ल्याउनुपर्छ। तर, आइतबार भएको निर्वाचनमा मोरङका कुनै पनि उम्मेदवारको बहुमत आएन। तेस्रो स्थान प्राप्त गर्नुभएका सभापतिका उम्मेदवार विष्ट प्रतिस्पर्धाबाट बाहिरिने तथा लिम्बू र गच्छदारबीच प्रतिस्पधा हुने जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए। उनका अनुसार निर्वाचनका विषयमा छलफल भइरहेको छ टुङ्गो लागेको छैन।
आइतबार कांग्रेस पदाधिकारी चयन गर्न भएको मतदानमा जम्मा ३ हजार ४सय १२ मत खसेको थियो।