नयाँ खेलाडीलाई समेट्दै अल्मुताइरीले सुरु गरे प्रशिक्षण

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमबाट १० जना खेलाडीले छाडेपछि नयाँ खेलाडीलाई थप गरिएको छ।
आसन्न एसियन कप छनोटको तयारीमा रहेको नेपाली टिमका १० खेलाडीले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवाद भएपछि क्याम्प छाडेका थिए।

विहीबार खेलाडीहरुले पत्रकार सम्मेलन गरेर प्रशिक्षकको व्यवहारका कारण आफूहरुले क्याम्प छाडेको बताएका थिए। उनीहरुले क्याम्प छाडेपनि मुख्य प्रशिक्षक अल्मुताइरीले नयाँ खेलाडीलाई समावेश गरेर प्रशिक्षण गराएका हुन्। 

प्रशिक्षणमा सहभागीहरुका तस्वीर अनुसार रुपबहादुर लामा, निरकुमार राई, शिब गुरुङ, विकास तामाङ, जर्जप्रिन्स कार्की, आकाश बुढामगर, प्रशान्त अवस्थी, अभिषेक बराल, विशाल सुनार, शेशेहाङ आङदाम्बे प्रशिक्षणमा सहभागी छन्। छनोटमा नेपाल  समूह ए मा रहेर प्रतिस्पर्धा गर्दै छ। नेपाल रहेको समूहमा कुवेत,  इन्डोनेसिया र जोर्डन रहेका छन्। नेपालको समूहको छनोट खेलहरु कुवेतमा आगामी ८ देखी १४ जुन सम्म आयोजना हुँदै छ। हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा स्थान बनाउने छन्।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले ८ जुनमा जोर्डनसँग  खेल्दा दोस्रो खेलमा ११ जुनमा कुवेतसँग प्रतिस्पर्धा गर्ने छ। त्यस्तै १४ जुनमा नेपालले इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्ने छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×