बैतडी - बैतडी प्रहरीले विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याइएको हो।
कार्यक्रमअन्तर्गत जिल्लाको पाटन नगरपालिकाका विद्यालयहरुमै पुगेर सचेतना दिन थालिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। पाटन नगरपालिकाको सहकार्य गरेर नगर क्षेत्रभित्रका विद्यालयहरुमा विद्यार्थीहरुलाई विभिन्न कुराका बारेमा जानकारी दिन थालिएको छ। उनले भने, “कार्यक्रमअन्तर्गत समाजमा हुने विभिन्न विकृतिहरुलाई न्यूनीकरण गर्न विद्यालयमा गएर कक्षा ९ देखि १२ सम्म विद्यार्थीहरुलाई सचेतना दिन थालेका हौँ। ”
सामाजिक सञ्जालको गलत प्रयोग र कानुनी व्यवस्था, लागूऔषध दुव्र्यसनी रोकथाम, लैङ्गिक, घरेलु हिंसा, आत्महत्या, बालविवाह, सामाजिक अपराध रोकथाम, ठगीका घटना लगायतका विषयमा छलफल गर्ने गरिएको छ। उनले भने, “विद्यालयमै पुगेर किशोरकिशोरीसँग गरिने अन्तरक्रियाले समाजमा हुने विभिन्न विकृतिहरुलाई न्यूनीकरणका साथै हिंसाका घटनामा कमी हुने विश्वास छ।”
नगरपालिकाका १० वटै वडाका एक÷एक विद्यालयमा अन्तरक्रिया गर्ने कार्यतालिकाअनुसार अहिले सम्म वडा नं २, ३, ४ ७ र १० कार्यक्रम सम्पन्न भइसकेको छ। बाँकी रहेका वडाहरुमा पनि कार्यक्रम सञ्चालनको तयारी रहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।