काठमाडौँ - चलिचित्र ‘छड्के’मा बिन्दूको क्यारेक्टर मन पराउने दर्शकले यसको दोस्रो सिरिजमा बिन्दुलाई देख्न पाउलान् वा नपाउलान् थाहा छैन। तर, विपीन कार्कीलाई भने देख्न पाउने छैनन्। ‘छड्के’मा बिन्दुको क्यारेक्टर विपीनले निभाएका छन्।
‘छड्के-२’ मा विपीन किन नखेल्ने भए ? 'मलाई स्क्रिप्ट मन परेन। त्यसैले मैले यो चलचित्र खेल्न सकिनँ,' उनले भने, 'स्क्रिप्ट पढ्दै गर्दा मैले इन्टरटेननै गर्न सकिँन। त्यसैले मैले निर्देशकलाई स्क्रिप्टमा चित्त बुझाउन सकिँन भनेँ।'
पैसा वा अन्य कारण ‘छड्के-२’ नखेल्नुको कारण नभएको उनले स्पष्ट पारे। 'कलाकारले आफ्नो परिश्रमको मूल्य माग्ने हो, मैले पनि मेरो परिश्रमको मूल्य माग्दै आएको छु,' विपीन भन्छन्, 'कलाकारको मूल्य यति नै हुन्छ भन्ने हुँदैन। यति नै हुन्छ भन्न कलाकार एमआरपी ट्याग लगाएको बेच्न राखेको सामग्री होइन। कलाकारको मूल्य तोक्न ऊ बस्तु वा सामान होइन।'
आफूले कहिल्यै पनि पारिश्रमिकलाई बाधक नबनाएको विपीनको दाबी गरेका छन्। चलचित्र हेरेर काम गर्दै आएको र त्यसको पारिश्रमिक निर्धारण गर्ने गरेको उनी बताउँछन्। 'पारिश्रमिको कुरा आउँदा म यसमा सधैँ प्रष्ट छु, चलचित्र अनुसारको पारिश्रमिक हुन्छ,' उनी भन्छन्, 'मैले एक रुपैयाँ पारिश्रमिक नलिइ पनि चलचित्रमा काम गरेको छु। तर, त्यो चलचित्रले समग्र चलचित्र उद्योगलाई योगदान दिनुपर्यो। विना पारिश्रमिक चलचित्र खेल्न म अहिले पनि तयार छु। तर, त्यो नेपाली चलचित्र उद्योगको माइलस्टोन हुनुपर्यो।