काठमाडौं - पुरुषहरुको सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेशनल नेपाल यस वर्ष पनि हुने भएको छ । गु्रप अफ इभेन्ट इन्टरटेनर्स (जीईई) को आयोजनामा १३ औं संस्करणको पुरुषहरुको सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेशनल नेपाल २०२४ हुने भएको हो । आयोजक गु्रप अफ इभेन्ट इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाका अनुसार नयाँ संस्करणको म्यानहन्ट इन्टरनेशनल नेपालका लागि भोलि शनिबारबाट अडिसन शुरु गरिनेछ ।
म्यानहन्ट इन्टरनेशनल नेपाल २०२४ का लागि पहिलो अडिसन राजधानीको त्रिपुरेश्वरस्थित जस्मिन फिटनेस एन्ड स्पामा भोलि शनिवार बिहान ११ बजे हुनेछ । प्रतियोगितामा स्पर्धा गर्नका लागि उचाई कम्तिमा ५.८ फुट हुनुपर्ने तथा १८ देखि ३४ वर्षको उमेर समूहका युवाले भाग लिन सक्ने ब्यबस्था गरिएको छ । त्यसैगरी न्यूनतम प्लस टु पढेका युवाले यसमा सहभागीता जनाउन सक्नेछन् । सक्सेनाका अनुसार बिबाहित र अबिबाहित दुबैले प्रतियोगितामा स्पर्धा गर्न सक्नेछन् ।
यसअघिका म्यानहन्ट इन्टरनेशन नेपालका विजेता विभिन्न क्षेत्रको स्थापित नाम बनेका छन् । यस अघि क्रमश ः अभिनेता प्रशान्त ताम्राकार, युवा व्यबसायी सुऋत ज्योति, अभिनेता अनुपविक्रम शाही, अभिनेता तथा मोडल समिन खान र आयुषमान देशराज जोशी श्रेष्ठ, अभिनेता सुशिल श्रेष्ठ र कान्जी कोइराला, कल कान्तिपुरका भिजे सुदित श्रेष्ठ, अभिनेता तथा मोडल निरज थापा र ध्रुव बुढाथोकी, मोडल विकल्प श्रेष्ठ, राइडर तथा मोडल विबेश श्रेष्ठ र अभिनेता प्रकाश शाह म्यानहन्ट इन्टरनेशनल नेपालका विजेता भएका थिए ।