स्थानीय तह निर्वाचन : ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’अभियान

चितवन - नेपाली कांग्रेस चितवनले स्थानीय निर्वाचन २०७९ लक्ष्य गरी जिल्लाका सबै वडामा चुनावी अभियान सुरु गरेको छ। जिल्लाका सात पालिकाका ९८ वडामा अभियान गरिएको हो।

जिल्ला सचिव सूर्य अर्यालका अनुसार जिल्लाबाट खटिएका प्रतिनिधिको उपस्थितिमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शनिबारबाट सुरु भएको हो। अभियानअन्तर्गत वडा कार्यालय उद्घाटनदेखि घरदैलोसम्मका विभिन्न कार्यक्रम गरिएको छ। पाँच दिनसम्म वडामा रहेर प्रतिनिधिले अभियान सञ्चालन गर्ने उनले जानकारी दिए।

पार्टीका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला कार्यसमितिका सदस्य, प्रदेश प्रतिनिधि र केही बौद्धिक क्षमता भएका पार्टीका बुद्धिजीवीहरूलाई खटाइएको छ। उनीहरुले घरदैलोसँगै वडामा पार्टीको अवस्थाबारेमा पनि अध्ययन गर्ने छन्।

पार्टीले गत फागुन २९ गते जिल्लामा अभियान सुरु गरेको थियो। चैत १ गते सङ्घीय क्षेत्रमा र चैत ७ गते पालिकामा चुनावी अभियान सुरु गरिएको छ। जिल्ला सभापति राजेश्वर खनालका अनुसार जिल्लामा कांग्रेसको क्रियाशील सदस्य सङ्ख्या २८ हजार छ। सात पालिकाको ९८ वडामध्ये गत निर्वाचनमा कांग्रेसले ३५ वडा जितेको थियो। इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एवं भरतपुर महानगरपालिकामा उपप्रमुखबाहेक अन्यत्र नेतृत्व कांग्रेसले गुमाएको थियो। जिल्ला अध्यक्ष खनाललले आजबाट अभियानलाई प्रभावकारी ढङ्गले अघि बढेको बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×