प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार

म्याग्दी। यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि म्याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार छिन्। नेकपा (माओवादी केन्द्र) ले मीना विश्वकर्मालाई रघुगङ्गा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएको हो। रघुगङ्गा–६ की २८ वर्षीय मीना दुधे बच्चा बोकेर चुनावी मैदानमा होमिएका छिन्। 

नेकपा (माओवादी केन्द्र) को रघुगङ्गा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले स्थानीय तहको प्रमुख पदमा उम्मेदवार बन्ने विश्वकर्मा धौलागिरि क्षेत्रकै एक मात्र दलित महिला भएको जानकारी दिए। “म के गाउँपालिकाको अध्यक्ष बन्न सक्दिन र ?’,’ मीनाले हरेकजसो सभा र भेलामा भन्छिन्, “यो हाम्रो समुदायको लागि अवसरसँगै चुनौति पनि हो। हामी कति दिन अरुको भोट बैंक बन्ने । नेतृत्व गर्ने अवसर पाए गरेर पनि देखाउँछु।”

गाउँपालिका अध्यक्ष जितेमा आफ्नो समुदायको उत्थानको साथै अन्य समुदायका गरिब विपन्नको समस्याप्रति ध्यान दिने उनको भनाइ छ। मीनाको आत्मविश्वास र साहसबाट प्रभावित भएको माओवादीका गण्डकी प्रदेश सदस्य रहेका प्रदेशसभा सदस्य विनोद केसीले बताए। 

मीनाले दलित समुदायले भोग्दै आएको विभेद र उत्पीडनको समस्याको बारेमा भावुक शैलीमा अभिव्यक्ति दिँदा भाषण सुन्न आएकाका आँखा रसाउने गर्छन्। उत्पीडनको आवाज बोकेर चुनावी मैदानमा उत्रिएकी उनको प्रतिस्पर्धीको रुपमा एमालेका प्रेमबहादुर कार्की र नेपाली कांग्रेसका भवबहादुर भण्डारी छन्। 

गाउँपालिका उपाध्यक्षमा एमालेले यामकुमारी गर्बुजा, कांग्रेसले प्रेमकुमारी पुन र माओवादीले रिमबहादुर कटुवाललाई उम्मेदवार बनाएको छ। रघुगङ्गामा निर्वाचित हुने ४२ पदका लागि १३५ चुनावी मैदानमा रहेका सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले बताए। बेनी नगरपालिका–१० पात्लेखेत माइती भएको मीनाको कक्षा १० पढ्दै गर्दा १७ वर्षको उमेरमा मागी विवाह भएको थियो। अनेरास्ववियु क्रान्तिकारी र वाइसिएलमा आबद्ध भएकी उनी विवाहपछि राजनीतिमा निष्क्रिय भएकी थिइन्। गाउँमै खेतीकिसानी गरेर जीविकोपार्जन गर्दै आउनुभएकी मीना पछिल्लो समय पार्टीसँग सम्बद्ध भएर उम्मेदवार बनेकी हुन्। उनका जेठा छोरा १० वर्षका छन् । दुई वर्षका छोरा बोकेर भोट माग्न घरदैलो अभियानमा उनी व्यस्त छन्। मिनाका श्रीमान् पनि सँगै चुनाव प्रचारमा छन्।

    
    प्रमुख पदमा मीनासहित म्याग्दीमा तीन महिला उम्मेदवार हुनुहुन्छ । धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेकी थमसरा पुन र बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मिनाकुमारी शर्मा उम्मेदवार बन्नुभएको छ । माओवादी केन्द्रले मङ्गला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छ । दलित समुदायबाट प्रमुख पदमा टेकबहादुर र मीना दुई मात्र उम्मेदवार हुनुहुन्छ । 

    वडाध्यक्ष पदमा दुई मात्र महिला उम्मेदवार छन् । सो गाउँपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेले लक्ष्मी बुढाथोकी र माओवादी केन्द्रले मनमाया चोचाङ्गीलाई उम्मेदवार बनाएका छन् । ६ वटा स्थानीय तह, ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । धवलागिरि गाउँपालिकाको वडा नम्बर १ गुर्जामा अध्यक्षसहित तीन सदस्यमा माओवादी केन्द्र र एक सदस्यमा स्वतन्त्र उम्मेदवार निर्विरोध भएका छन् । एमाले सबै स्थानीय तहमा एकल प्रतिस्पर्धामा उत्रिएको छ । कांग्रेस र नेकपा माओवादी केन्द्रले बेनी नगरपालिका, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा तालमेल गरेका छन् । चार गाउँपालिकाका अध्यक्ष र १७ वडाध्यक्ष एकै पदमा दोहोरिएर उम्मेदवार बनेका छन् । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×