काठमाडौँ - फिफा विश्वकपअन्तर्गत सोमबार भएको समूह 'एच' को खेलमा घानाले दक्षिण कोरियामाथि ३-२ को रोमाञ्चक जित निकालेको छ। यो जितसँगै घानाले अन्तिम १६ को सम्भावना कायम राखेको छ।
कतारको एजुकेसन सिटी रंगशालामा सम्पन्न खेलको २४ औँ मिनेटमा मोहम्मद सलिसुले गरेको गोलबाट घानाले अग्रता बनाएको थियो। ३४ औँ मिनेटमा मोहम्मद कुदुसले गोल गरेपछि घानाले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो।
यद्यपि, ५८ औँ मिनेटमा गुइ सुङ चोले गोल गर्दै दक्षिण कोरियालाई २-१ को अवस्थामा ल्याएका थिए। यस्तै, ६१ औँ मिनेटमा चोले नै गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काएका थिए। तर, ६८ औँ मिनेटमा कुदुसले घानाका लागि तेस्रो गोल गरेसंगै घानाले ३-२ को रोमाञ्चक जित निकालेको थियो।
जितसँगै २ खेलबाट ३ अंक जोडेको घाना तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट १ अंक जोडेको दक्षिण कोरिया तालिकाको पुछारमा रहेको छ।
घाना यसअघि पहिलो खेलमा पोर्चुगलसंग ३-२ ले पराजित भएको थियो। यता, दक्षिण कोरिया पहिलो खेलमा उरुग्वेसँग गोलरहित बराबरीमा रोकिएको थियो।