काठमाडौँ - हुम्लामा फुटबल सिक्दै आएका खेलाडीलाई खेल सामग्री सहयोग गरिएको छ। काठमाडौँको तारकेश्वर नगरपालिका-४ का रमेश महर्जनले फुटबल खेलाडीलाई खेल सामग्री सहयोग गरेका हुन्।
महर्जनले हुम्ला आएर खेल सामग्री हस्तान्तरण गरेका छन्। उनले २१ खेलाडीलाई जर्सी, १७ थान फुटबल, ११ थान प्याड र प्रशिक्षणका लागि चाहिने ४ वटा पोल सहयोग गरेको हुम्ला फुटबल ऐकेडेमीका अध्यक्ष विष्णु रावतले जानकारी दिएका छन्। सिमकोट तल्लो बजारस्थित सिमसार क्षेत्रको धुलाम्मे मैदानमा खेलाडी विनाजर्सी अभ्यास गर्दै आएका थिए।
यस्तै गोल नेपालले उपलब्ध गराएको फुटबल सामग्री पनि खेलाडीलाई वितरण गरिएको छ। हाल जिल्लाका १३ वर्षभन्दा कम उमेरका खेलाडीले फुटबल प्रशिक्षण लिइरहेका छन्। हुम्ला फुटबल एकेडेमीले खेलाडीलाई प्रशिक्षणको व्यवस्था गरेको हो।