पोखरा - नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दीनानाथ बराल निर्वाचित भएका छन्। खेल पत्रकारितको विकाससँगै खेल र खेलाडीको विकासमा क्रियाशील मञ्चको आज पोखरामा सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको मतदानमा बरालले प्रतिस्पर्धी रञ्जन अधिकारीलाई नौ मतले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्।
आगामी दुई वर्षे कार्यकालका लागि भएको मतदानमा ४९ मत खसेकामा बरालले २९ र अधिकारीले २० मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक सरिता तिमिल्सिनाले जानकारी दिए। मञ्चको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिवमा राजाराम पौडेल, सचिवमा शशिकुमार पौडेल र कोषाध्यक्षमा कविता घर्तीमगर निर्वाचित भए। अध्यक्षबाहेक अन्य पदमा भने सर्वसम्मत भएको थियो। मञ्चको सदस्यमा दीपकराज मुल्मी, नारायण शाही, उमेश पुन, मानबहादुर घर्ती (एमबी आस्था) र राजु गिरी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।