चितवन - चितवन मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशाला (सिएमसी ल्याब)ले अन्तर्राष्ट्रियस्तरको आइएसओ मान्यता प्राप्त गरेको छ। गुणस्तरीय सेवा प्रवाह गरेवापत प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त भएको अस्पतालले जनाएको छ।
अस्पतालका क्वालिटी म्यानेजर एण्ड एक्कुडेशन को–अर्डिनेटर राप्रसाद शर्माका अनुसार प्रयोगशालाले आइएसओ १५१८९:२०१२ प्राप्त गरेको हो। अन्तर्राष्ट्रिय ल्याब्रोटेरी मानकीकरण निगम मान्यता शिक्षा अनुसन्धान र वैज्ञानिक सेवा केन्द्र (एइआरएसएससी)ले तोकेका मापदण्ड अस्पतालको प्रयोगशालाले पूरा गरेकाले सो मान्यता पाएको उले जानकारी दिए। नेपालमा यसअघि छवटा प्रयोगशालाले यो मान्यता प्राप्त गरिसकेको जनाउँदै उनले भने, “मेडिकल कलेजहरूमा र उपत्यका बाहिर हामीले पहिलोपटक यो मान्यता प्राप्त गरेका हौँ।”
प्रयोगशालाका निर्देशक डा सञ्जय यादवले भारतको भेलोरमा रहेको क्रिस्टियन मेडिकल कलेज (सिएमसी)मा प्रयोग हुने उपकरण, जनशक्ति र रिएजेन्ड नै यस कलेजले प्रयोग गर्दै आएको बताए। यसको प्रमाणपत्र नं ‘एमएलएस–००५’ रहेको छ। डा यादवले अस्पताल र प्रयोगशाला टिमको सबै सदस्यको लामो समयको मेहेनत र परिश्रमले आइएसओ प्राप्त गरेको बताए।
प्रमाणपत्र पाउनका लागि अस्पतालले २५८ प्रकारका कागजात तयार पारेको थियो। अहिले ल्याब्रोटेरी मेडिसिन विभागअन्तर्गत अस्पतालमा साना–ठूला १२ वटा एकाइ सञ्चालनमा छन्।
अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले अस्पतालले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय मान्यतालाई सधैँ कायमै राख्ने बताए। उनले भने, “प्रयोगशालाबाट प्राप्त रिपोर्ट सधैँ गुणस्तरीय रहन्छ। त्यसमा कुनै पनि चिन्ता लिनु पर्दैन।” चितवनमा स्तरीय प्रयोगशाला सेवा भएसँगै अब राजधानी काठमाडौँ र विदेश पठाउनु नपर्ने उनको भनाइ छ। उनले थपे, “अब यहाँको नमूना चर्को शुल्क र लामो समय लगाएर विदेश परीक्षण गराउन पठाउनु पर्दैन।”