पारस शाहबाट कति प्रभावित धीरजको ‘बाबरी’ अभिनय ?

काठमाडौँ - धीरज मगर यतिबेला फिल्म ‘बाबरी’लाई लिएर चर्चाको केन्द्रमा छन्। तर उनी चर्चालाई पछ्याउने स्वभावका छैनन्। बरु चर्चा उनलाई पछ्याउँदै आउँछ।

को-स्टारहरु अदिती बुढाथोकी र धीरज नाड्करसँगै धीरज मगर फिल्मको प्रवद्र्धन अभियानमा छन् किनभने फिल्म शुक्रबारदेखि रिलिज हुँदैछ। फिल्ममा धीरजले सानो राजा साहेबको चरित्रमा अभिनय गरेका छन्।

धेरैले ‘बाबरी’को उनको अभिनय र संवाद शैली दयाहाङ राई र सौगात मल्लबाट प्रभावित भएको बताएका छन्। धीरज यी कुरालाई अस्वीकार पनि गर्दैनन्। तर फिल्मको वर्कसप समयमा उनले आत्मसात गरेको चरित्र भने दयाहाङ र सौगातको भने होइनन्। उनी हुन् पूर्वयुवराज पारस शाह।

फिल्मको सुटिङ सुरु हुन जम्मा ३ साता बाँकी थियो। उनलाई राजा साहेबको चरित्र निर्वाह गर्नु थियो। तर जीवनमा यस्ता चरित्रलाई नजिकबाट नदेखेका धीरजलाई यो चरित्रमा डुब्नु सकसपूर्ण पनि थियो।

अभिनय कोच सुदाम सीकेसँग धीरज यही कुरालाई लिएर सकसमा थिए। यही गफगाफमा उनको दिमागमा पारस शाहको चित्र आयो। अनि त उनलाई चरित्रमा डुब्ने द्वार खुल्यो।

अनि पारस शाहबारे गुगल पनि गरे। पारसको हिंड्ने, बोल्ने र अन्य स्वभावलाई उनले नजिकबाट उतार्ने प्रयास गरे। तर धीरज आफूले पारसको नक्कल गरेको नभई, स्वभाव उतार्ने मात्र प्रयास भएको बताएका छन्। ‘मैले पारस सरकारको नक्कल गरेको होइन, इमेजलाई चित्रण मात्र गरेको छु,’ उनी भन्छन्।

फिल्ममा धीरजले पारसको व्यक्तित्वलाई कसरी आत्मसात गरेका होलान्, फ्यानहरु यसबारे जान उत्सुक छन्। सुरेन्द्र पौडेल निर्देशित फिल्म शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×