बाजुराका विभिन्न नगरपालिका र जिआइजेट नामक गैरसरकारी संस्थाको सयुक्त सहकार्यमा बाजुराका विभिन्न नगरपालिकाहरूमा पर्यटन गुरुयोजना निर्माण गरिएको छ।
निर्माण गरिएको सो गुरुयोजनामा दीर्घकालीन पर्यटन विकास योजनामा समेटिएको छ। बाजुराका नौवटा स्थानीय तहमध्ये पर्यटन गुरुयोजना बनाउने बडीमालिका पहिलो पालिका भएको नगरपालिकाका प्रमुख पद्म बडुवालले बताएका छन्। पालिकाभित्रका नौवटै वडाका धार्मिक तथा पर्यटकीय गन्तव्य, सांस्कृतिक तथा ऐतिहासिक महत्वका क्षेत्र, स्थानीय रैथानले बाली उत्पादनको पकेट क्षेत्रसहितको विवरण उल्लेख हुने गरी योजना निर्माण गरिएको नगर उपप्रमुख कविता विष्टले बताइन्। उनले नगरपालिकाको लागि बनाइएको गुरुयोजना प्रारम्भिक विवरणसहित २०० पृष्ठ लामो गुरुयोजनाको सरोकारवाला बीचको छलफल तथा सुझाव सङ्कलन गरिएको बताइन्।
नगरभित्रका पर्यटन, धार्मिक र सांस्कृतिक तथा रैथाने बालीको अध्ययन गरी तयार पारिएको गुरुयोजनालाई अन्तिम रूप दिन पर्यटन क्षेत्रका विज्ञ र जनप्रतिनिधिहरुसँग सुझाव सङ्कलन लिने कार्य गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिए। उनका अनुसार सिङ्गो नगरकै भविष्य जोडिएको पर्यटन क्षेत्रका सम्भावित गन्तव्य, त्यसको महिमा र विशेषता, आवश्यक पूर्वाधार विकास र संरचनाको निर्माणसहितको तथ्याङ्कसहितको विवरण गुरुयोजनामा समेटिएको छ।
प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले नगरको आर्थिक विकास र समृद्धिका लागि दीर्घकालीन योजना निर्माण गरिएको बताए। बडीमालिका, कालाजाग्रा, दुनालेख, त्रिवेणी पाटन, वीरे झरना पोरखे क्षेत्रसहितका प्रमुख गन्तव्यलाई गुरुयोजनामा विशेष स्थान दिइएको पाइएको छ। योजनामा केबलकारदेखि पैदलयात्रा, सडक बाटोबाट विमानस्थलका विषयलाई समेत समेटिएको छ। छिमेकी स्थानीय तहसँगको सहकार्यमा नै थप परिमार्जन र एकीकृत योजना निर्माण गरेर अघि बढ्न सके योजनाले दीर्घकालीन महत्व राख्ने गुरुयोजना निर्माण समितिका संयोजक एवं पर्यटनविज्ञ डा. प्रनिलकुमार उपाध्यायले बताए।
गुरुयोजनामा धार्मिक आस्थादेखि, धरोहर, स्थानीयवासीको पेशा व्यवसायदेखि उत्पादन र नगरभित्रका होटल व्यवसायदेखि व्यापारको प्रकृतिको विषयलाई समेत समावेश गरिएको छ। एक महिना लामो अध्ययन र स्थलगत अवलोकन तथा स्थानीयवासीसँगको बृहत् छलफलपछि योजनाको मस्यौदा तयार पारिएको नगरपालिकाले जनाएको छ। स्थानीय मौलिक संस्कृति, भाषा एव्म वेषभूषालाई यहाँको पर्यटन र उत्पादनसँग जोडेर विकास गरिने बताउँदै संयोजक उपाध्यायले स्थानीय, भाषा, वेषभूषा, कला संस्कृतिको संरक्षण गर्ने नीति अङ्गिकार गरिएको उल्लेख गरे।
गुरुयोजनामा नगरस्तरीय पर्यटन विकास समितिसहितको परिकल्पना गरिएको छ।