काठमाडौँ - त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा पाँच छ वटा ठाउँमा बम भएको एक अपरिचित नम्बरबाट फोन आएपछि अहिले विमानस्थलमा सेना खटिएको छ।
विमानस्थलको ल्याण्डलाइन नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा बम भएको बताएपछि हंगामा भएको हो। सेना, सशस्त्र प्रहरी र प्रहरीको टोलीले तालिमप्राप्त कुकुरहरुबाट त्यहाँ सर्च अपरेसन सुरु गरेका छन्। अहिले सबै यात्रुहरुलाई बाहिर निकालिएको र तालिमप्राप्त कुकुरहरुसहित सुरक्षाकर्मी विमानस्थल पुगेको बताइएको छ। यसै गरी नेपाली सेनाको बम डिस्पोजल टोली पनि त्यहाँ पुगिसकेको छ।
फोन गर्ने व्यक्तिको पहिचान गर्ने कार्य भइरहेको छ भने घटनास्थलमा सुरक्षा कडा बनाएर अनुसन्धान थालिएको छ।
केही समयका लागि आन्तरिक उडान बन्द गरिएका छन्। अन्तर्राष्ट्रिय उडान भने भइरहेको छ। घटनाका बारे थप जानकारी भने आउन बाँकी रहेको छ।