तनहुँ - तनहुँको भानु नगरपालिका–१ कल्याणटार र बन्दीपुर गाउँपालिका–१ भुडाटार जोड्ने चुँदीखोलामा झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ। झोलुङ्गे पुल नहुँदा लामो यात्रा गर्नुपर्ने यस भेगका स्थानीयवासीलाई झोलुङ्गे पुलले सहज भएको छ।
बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लागत सहभागितामा झोलुङ्गे पुल निर्माण भएपछि यस भेगका जनताको यात्रा अवधि छोटिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णगोपाल न्यौपानेले जानकारी दिए। यहाँ पुल नहुँदा स्थानीयवासी यसअघि चार किलोमिटर टाढा डुम्रेमा रहेको पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता थियो। “झोलुङ्गे पुल बनेपछि चार किलोमिटर बाटो छोटो भयो, नत्र भने चार किलोमिटर टाढासम्म हिँडेर आवतजावत गर्नुपर्थ्यो,” उनले भने।
विसं २०७८ वैशाख १३ गते पुल निर्माणका लागि सम्झौता भएकामा हालै मात्र पुल निर्माण सम्पन्न भएको छ। पुलको औपचारिक शुभारम्भ भने हुन बाँकी छ। ८५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि छ सयभन्दा बढी घरधुरीका तीन हजार छ सयभन्दा बढी जनसङ्ख्या लाभान्वित भएका छन्। झोलुङ्गे पुलले भानु नगरपालिकास्थित मैवल र नावरुङका सर्वसाधारणलाई पनि घुमाउरो बाटो नघुमी सिधै डुम्रे आउन सहज भएको स्थानीयवासी प्रदीप न्यौपानेले जानकारी दिए।
रु ३९ लाख ५१ हजार २४ को लागतमा पुल निर्माण भएको छ। गैरसरकारी संस्था समन्वय समिति तनहुँको सामाजिक तथा प्राविधिक सहयोगमा पुल निर्माण सम्पन्न भएको हो। पुल निर्माणका लागि गाउँपालिकाले रु पाँच लाख १३ हजार ६३३ सहयोग गरेको छ भने स्थानीयवासीले ७९ हजार २० जनश्रमदान गरेका छन्। दातृ संस्थाले रु ३३ लाख ५८ हजार ३६९ सहयोग गरेको छ।