मकवानपुर गोल्डकप : विजय युथ र एभिनियर सेमिफाइनलमा

मकवानपुर - हेटौंडाको विजय युथ क्लब र क्यामरुनको एभिनियर एफसी चौथो सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। बिहीबार बिहान विजय युथले नव जनजागृति युवा क्बल सिमरालाई ३-० ले हराउँदै अन्तिम चारको स्थान पक्का पारेको हो।

दोस्रो खेलमा एभिनियरले यसै सिजनमा ए डिभिजनमा उक्लेको चर्च ब्वाइजलाई ४-० ले पराजित गर्दै सेमिफाइनल स्थान पक्का गरेको हो। आठौं मिनेटमा बिल्लेको गोलबाट एभिनियरले अग्रता लिएको थियो। विजय युथका लागि अमिर श्रेष्ठ, संजोग राई र सुनील घलानले गोल गरेका थिए।

खेलको ५४औँ मिनेटमा अमिरले राम्रो फिनिसिङ गर्दै १-० को अग्रता लिए। ६३औँ मिनेटमा संजोगले विजय युथलाई २-० को स्थितिमा पुर्‍याए। गोलरक्षक दिलमणि चौधरीबाट रिवाउन्ड बललाई राईले गोलमा परिणत गरेका हुन्।  

खेलको अन्तिम इन्जुरी समयमा सुनिल घलानले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत हुँदा विजय युथ ३-० ले विजयी भएको थियो। खेलमा म्यान अफ द म्याच हुँदै विजय युथका सुनिल घलानले १० हजार रुपैयाँ प्राप्त गरेका थिए। 

त्यस्तै, प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा एभिनियरले चर्च ब्वाइजमाथि एकपक्षीय खेल प्रदर्शन गर्‍यो। खेलको आठौँ मिनेटमा बिल्लेले एभिनियरलाई १-० को अग्रता दिलाएका थिए। २७र्औँ मिनेटमा टिम्बाले २-० का लागि गोल गरेका थिए। ३५औँ मिनेटमा चर्च ब्वाइजका गोलरक्षक किशोर गिरीलाई सहजै बिट गर्दै डेलले ३-० को अग्रता दिलाए।

४०औँ मिनेटको प्रहार गोलरक्षक गिरीको हातमा लाग्दै गोल भएको थियो। शुक्रबार पहिलो सेमिफाइनलमा विजय युथ र नेपाल पुलिस क्लबबीच खेल हुनेछ। शनिबार दोस्रो सेमिफाइनल त्रिभुवन आर्मी क्लब र एभिनियरबीच हुनेछ। 

३० जेठसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ पाउनेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×