काठमाडौं - चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म सरकारले तीन खर्ब सार्वजनिक ऋण उठाएको छ। राजस्व सङ्कुचनका कारण स्रोतको दबाबमा रहेको सरकारले चालु आवको सुरुवातदेखि नै खास गरी आन्तरिक ऋण उठाएर व्यवस्थापन गर्दै आएको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठसम्म सरकारले दुई खर्ब २० अर्ब ३८ करोड रुपियाँ आन्तरिक ऋण लिएको छ। सोही अवधिमा ७९ अर्ब ६७ करोड बाह्य ऋणसमेत गरेर तीन खर्ब छ करोड रुपियाँ ऋण लिएको कार्यालयले जानकारी दिएको छ।
थपिएको तीन खर्बसहित सरकारले तिर्नुपर्ने सार्वजनिक ऋणको समग्र दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड रुपियाँ पुगेको छ। जसमध्ये १० खर्ब ९९ करोड ७२ लाख रुपियाँ आन्तरिक र १० खर्ब ७३ करोड ५२ लाख रुपियाँ बाह्य ऋण रहेको छ।
जेठसम्म सरकारले ऋणको साँवा तथा ब्याजबापत दुई खर्ब रुपियाँभन्दा बढी भुक्तानी गरेको छ। कार्यालयका अनुसार समीक्षा अवधिसम्म सरकारले एक खर्ब ६४ अर्ब ४८ करोड रुपियाँ आन्तरिक ऋणको साँवा ब्याज भुक्तानी गरेको छ। जसमध्ये एक खर्ब आठ अर्ब ११ करोड रुपियाँ साँवा र ५६ अर्ब २६ करोड रुपियाँ ब्याज भुक्तानी भएको छ।
गोरखापत्र दैनिकबाट