काठमाडौँ- आयोजक क्यामरुनलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै इजिप्ट अफ्रीका कप अफ नेसन्सको फाइनलमा पुगेको छ।
गएराति भएको खेलमा निर्धारित ९० मिनेटको खेल र त्यसपछि खेलाइएको अतिरिक्त समयको खेलमा गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो।
अब इजिप्टले उपाधिका लागि सेनेगलको सामना गर्ने छन्। इजिप्टले यस अघि पछिल्लो पटक २०१० मा अफ्रीका कप जितेको थियो भने पछिल्लो पटक २०१७ मा फाइनलमा पुगेर पराजित भएको थियो। इजिप्ट अहिलेसम्म सबैभन्दा बढी ७ पटक यो उपाधि जित्ने देश हो।
त्यस्तै फाइनलमा पुगेको सेनेगेलले भने अहिलेसम्म यो उपाधि जितेको छैन। योसहित सेनेगल तेस्रो पटक फाइनलमा पुगेको हो। यस अघि सन २००० र २०१९ मा फाइनलमा पुगेको थियो। अब फाइनल खेल फेब्रुअरी ६ मा हुने छ।