काठमाडौँ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ थाप्लेमा नवनिर्मित बुद्धमूर्ति हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ।
विश्वव्यापी महमारीकारूपमा फैलिएको कोभिड–१९ जोखिमका कारण घरमै रहेका मानिसको पछिल्लो समय थाप्लेको बुद्धमूर्ति पहिलो रोजाइँ स्थलको रूपमा विकास हुँदै गएको छ। यहाँका बुद्धमूर्ति र प्राकृतिक मनमोहक दृश्यावलोकन गर्नेको चहलपहल पछिल्लो समय निकै बढेको हो। समुंद्र सतहदेखि झण्डै दुई हजार २०० मिटरको उचाइमा रहेको थाप्लेमा विशेषगरी अर्जुनचौपारी गाउँपालिका–६ दरौंका गुरुङ समुदायको सहयोगमा बुद्धमूर्ति निर्माण गरिएको हो। यहाँका स्थानीयवासी र विदेशमा रहने सङ्घसंस्था र व्यक्तिको सहयोगमा विशाल बुद्धमूर्ति निर्माण गरिएको दरौं थाप्ले बुद्धमूर्ति निर्माण समितिका संयोजक भूमिबहादुर गुरुङ (विश्व) ले जानकारी दिए। “थाप्ले पर्यटकीय दृष्टिले निक्कै महत्व बोकेको स्थल भएर पनि त्यसको व्यवस्थापन हुन नसक्दा ओझेलमा परेको थियो”, उनले भने, “यसलाई व्यवस्थित गरी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँको प्रमुख स्थल बनाउनुपर्छ भनेर आफ्नै परिकल्पनामा विशाल बुद्धमूर्ति निर्माण गरेका छौँ।”
गाउँबाट सहरतिर बसाइँ सर्ने क्रम बढ्दै जाँदा यहाँबाट सहर पसेका र यहाँका स्थानीयवासीलाई जोड्नका लागि पनि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास संयोजक गुरुङको छ। “पछिल्लो समय युवा पुस्ता बसाइँ सरेसँगै गाउँ नफर्कने प्रवृत्ति बढ्दै गएको छ”, उनले भने, “अहिलेको पुस्ता बजारतिरै हुर्कन्छन्, सहरमा हुर्केका हाम्रा बालबच्चा गाउँ जाँदा बुबाहरूले यस्तो काम गरेका रैछन् भनेर बुझ्न पाए भने हाम्रो पहिचान त्यहाँ जोडिन्छ।” विसं २०७५ बाट निर्माण थालिएको मूर्ति दुई वर्षमा सम्पन्न भएको हो। ५८ फिट उचाइ रहेको उक्त मुर्ति झण्डै रु. एक करोड ५० लाखको लागतमा निर्माण गरिएको हो। मूर्ति निर्माणका लागि सरकारी रकम यसमा नपरेको संयोजक गुरुङको भनाइ छ। “दरौंमा रहेका र यहाँबाट विदेशमा रहेका विभिन्न सङ्घ संस्था तथा व्यक्तिको सहयोगमा मूर्ति निर्माण गरेका हौँ”, उनले भने। उक्त मूर्ति निर्माणका लागि संयोजक गुरुङ एक्लैले रु. ५० लाख आर्थिक सहयोग गरेका छन्।
पछिल्लो समय यो स्थल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँको केन्द्रको रूपमा विकसित हुँदै गएको छ। दैनिकजसो यहाँ सयौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउने गरेका दरौं थाप्ले लेक भ्यू टावर रिसोर्टका सञ्चालक सञ्जीव गुरुङले बताए। उनका अनुसार यहाँ आउने पाहुनामध्ये कोही अवलोकन गरेर फर्कन्छन् भने कोही बस्छन्। यहाँ आउने पर्यटकलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याइएकाले पनि सहज भएको छ। “यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै जाँदा रिसोर्ट सञ्चालन गर्न थाल्यौँ”, सञ्चालक गुरुङले भने, “कोही अवलोकन गर्नुहुन्छ र दिनभरी बसेर फर्कनुहुन्छ, कोही यही रिसोर्टमा बसेर बिहानको सूर्योदय हेरेर फर्कनुहुन्छ।” यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायत हिमशृङ्खलाका साथै सूर्योेदय र सूर्यास्तको मनमोहक दृश्य हेर्न सकिन्छ।
थाप्लेमा आफू दुई पटक गइसकेको र जति पटक गए पनि आनन्द लागिरहने ठाउँ भएको अनुभव वालिङ– ८ का सुरेश बगालेको छ। “बुद्धको विशाल मूर्तिसँगै देखिने माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्णलगायतका हिम शृङ्खलाले यहाँ जाने जो कोहीलाई पनि आकर्षित गर्छ”, उनले भने, “अग्लो ठाउँमा भएकाले पनि बिहानको सूर्योदय तथा यहाँबाट नागबेली रूपमा बगेको आँधीखोला, पर्यटकीय गाउँ सिरुबारी, पर्यटकीय नगरी पोखरास्थल अवलोकन गर्न सकिँदो रहेछ।” आन्तरिक तथा बाह्य पर्यटकीय दृष्टिले महत्व बोकेको स्थल भएकाले यसको प्रचारप्रसार र थप व्यवस्थापनमा जोड दिनुपर्ने त्यहाँ पुग्ने पर्यटकको सुझाव छ। बुद्धमूर्ति निर्माणसँगै समग्र थाप्लेको पर्यटकीय विकासका साथै धार्मिक पर्यटनमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।
बुद्धमूर्ति निर्माण भएसँगै थाप्ले आउने पर्यटकको बसाइँ एक दिन अरू थपिन थालेको बुद्धमूर्ति निर्माण समितिका संयोजक गुरुङले बताए। “थाप्ले आफैमा सुन्दर छ, निर्माणाधीन बुद्धजस्ता संरचनाले यहाँको सुन्दरतालाई अझै उजागर गर्छ”, उनले भने, “बुद्धमूर्ति निर्माणले यो क्षेत्र विश्वकै पर्यटकको आकर्षक गन्तव्य बन्नसक्छ।”