काठमाडौँ - हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले स्थानीय कृषकलाई स्याउका बिरुवा वितरण गरेको छ।
जुम्लाबाट हवाईजहाजमार्फत स्याउका बिरुवा जिल्लामा पुर्याएपछि वितरण गर्न सुरु गरिएको हो। पैदल मार्गबाट ल्याउन सम्भव नभएपछि जुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सिमकोट हवाई मार्गबाट बिरुवा दोहोरो हवाई भाडा तिरेर ल्याइएको गाउँपालिकाका लेखाप्रमुख अश्विनीकुमार देवकोटाले जानकारी दिए। गाउँपालिकाले चालु चालु आर्थिक वर्षको फलफूल तथा कृषि विस्तारको ‘एक घर एक बगैँचा’ कार्यक्रमअन्तर्गत साढे १२ हजार स्याउका बिरुवा खरिद गरेर ढुवानी गरेपश्चात् कृषकलाई वितरण सुरु गरिएको उनको भनाइ थियो।
स्याउका विरुवा जिल्लामा पुगेसँगै गाउँपालिकाले वडा नं ६ बाहेक १ देखि ५ सम्मका वडाका बासिन्दालाई ती बिरुवा वितरण गर्न थालेको हो। रेड, रोयल डेलिसियस, गोल्डेन र जनार्थन जातका स्याउका बिरुवा प्रतिबोट रु. ७७ दरले खरिद गरिएको लेखा प्रमुख देवकोटाले बताए। सेवाप्रदायक निकायले स्याउमा लगानी गरिएको बजेटको ६० प्रतिशतभन्दा बढी ढुवानीमा लगानी गर्न बाध्य भएको जनाएका छन्।
त्यसैगरी, सिमकोट, खार्पुनाथ, कृषि विकास कार्यालय र स्याउ जोन कार्यक्रमले पनि स्याउ र ओखरका बिरुवा हवाई मार्गबाटै ढुवानी गरेर ल्याउने गरेको छ।