काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आगामी असोज १२ गते हुने भएको छ। एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले असोज दोस्रो साता विशेष साधारण सभा डाक्ने निर्णय गरेको हो।
गत ६ असारमा काठमाडौंमा भएको एन्फाको निर्वाचनमा २१ सदस्यीय कार्यसमिति चयन हुनुपर्नेमा १९ पदाधिकारी मात्र चयन भएका थिए। ४ जना सदस्यको मत बराबर भएपछि २ जना सदस्यको निर्णय हुन बाँकी थियो। त्यतिबेला अर्को साधारण सभाबाट २ सदस्यको टुङ्गो लाग्ने गरी निर्वाचन सम्पन्न गरिएको थियो।
अब विशेष साधारण सभाले बाँकी २ सदस्य चयन गर्नेछ। यसअघि निर्वाचनमा १३ खुल्ला सदस्यका लागि ३२ जना प्रतिस्पर्धामा रहेका थिए।
जसमध्ये केन्द्रीय सदस्यमा मनिष जोशी (४८), अनिल मल्ल (४७), रबिन्द्र चन्द (४६), विकास नारायण श्रेष्ठ (४४), भोजराज शाही (४४), महेन्द्र क्षेत्री (४४), पुरुषोत्तम थापा (४३), रमेश ब्यन्जनकार (४३), मनिराज विष्ट (४२), टिका लामा (४१), भरत बुढथापा ४० मत प्राप्त गर्दै निर्वाचित भएका थिए भने दीपक थापा क्षेत्री, दिपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरेका थिए।
बराबर मत प्राप्त गरेका यी ४ जना मध्ये २ जना अब हुने विशेष साधारण सभाबाट सदस्य बन्नेछन्। बैठकले एन्फाको मानार्थ अध्यक्ष नरेन्द्र श्रेष्ठ, वरिष्ठ मानार्थ उपाध्यक्षमा किशोर राईलाई नियुक्त गर्ने निर्णय गरेको छ। यो निर्णय पनि आगामी साधारण सभामा अनुमोदनका लागि पेश गर्ने एन्फाले जनाएको छ।